आवासीय चिकित्सकको आन्दोलनमा सरकारी मेडिकल कलेजको पनि समर्थन

आइतबार, १४ बैशाख २०८२, १२ : २९

काठमाडौं- पाँच सरकारी मेडिकल कलेज तथा स्वास्थ्य प्रतिष्ठानहरूका आवासीय चिकित्सकहरूको एलाइन्सले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन सम्बन्धी चलिरहेको दबाव तथा आन्दोलनमा आफ्नो समर्थन जनाएको छ।

गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'निजी क्षेत्रका आवासीय चिकित्सकहरू आफ्नो मागको कार्यान्वयनका लागि निरन्तर आन्दोलनरत गरिरहदा समस्या समाधानतर्फ कुनै प्रभावकारी प्रगति नदेँखेकाले पहिलेदेखि नै हाम्रो ऐक्यबद्धता रहँदै आएको छ र हामी विगत दुई दिनदेखि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवामा सहभागी भएका छैनौं। यसक्रममा बिरामीहरूमा पर्न गएको समस्याको हामीलाई पूर्ण बोध छ र थप आन्दोलनले सिर्जना गरेको असुविधाप्रति दुःख व्यक्त गर्दछौं।'

आजसम्म पनि सरोकारवालाबाट उपलब्धिमूलक केही नभएको अवस्थामा एलाइन्सले भोलि सम्पूर्ण आवासीय चिकित्सकहरूले इमर्जेन्सी सेवा बाहेक अन्य सेवा वहिष्कार गर्ने निर्णय गरेको छ।

साथै, विज्ञप्तिमा वैज्ञानिक कार्य समय र बिदा प्रावधान सहितको मापदण्डयुक्त स्नातकोत्तर सञ्चालन निर्देशिका तुरुन्त तयार गरी लागू गर्न पनि माग गर्दै सम्बोधन नभएमा अझ सशक्त आन्दोलनात्मक कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने बताइएको छ।

आइतबार, १४ बैशाख २०८२, १२ : २९

प्रतिक्रिया