काठमाडौं- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन् । राउतसहित सर्वोच्चका रजिस्ट्रार र न्यायाधिस रहेको भ्रमण दल बेलायत प्रस्थान गरेका हुन् ।
बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक भ्रमण एवं द्विपक्षीय सम्बन्ध विस्तारका क्रममा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल टर्किस एयरलाइन्सको जहाजमा बेलायत प्रस्थान गरेका छन्। उनीहरूको ट्रान्जिट टर्कीको इस्तानबुल रहनेछ।
प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा रजिस्ट्रार पौडेलसहित सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका न्यायाधीश रितेन्द्र थापा र उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल रहेका छन् । फुयाल, थापा र रावल आज साँझ एयर इन्डियाको जहाजमार्फत नयाँ दिल्ली हुँदै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल गत बिहीबार टर्कीको संवैधानिक अदालतको ६३ औँ वार्षिकोत्सवका अवसरमा त्यहाँका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा टर्की भ्रमण जाने कार्यक्रम तय भएको थियो । तर टर्कीमा भूकम्प आएपछि अन्तिम समयमा भ्रमण रद्द भएको थियो ।
बेलायत भ्रमणका क्रममा टर्की ट्रान्जिट परे पनि त्यहाँ औपचारिक कुनै कार्यक्रम भने नरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रतिक्रिया