मन्त्री अधिकारी भन्छन् : निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ

सोमबार, १५ बैशाख २०८२, १४ : ५८

काठमाडौँ–कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने बताएका छन् । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताए ।

उक्त नीति अनुमोदनका लागि केही दिनमा मन्त्रिपरिषद् पेस गरिने बताउँदै उनले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

देशको दिगो विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकको आय वृद्धि तथा आर्थिक समृद्धिलाई सरकारले प्राथमिकतामा राखेको प्रष्ट पारे ।

करिब ६० हजार रोजगारी सिर्जना गरेको चिया उद्योगलाई थप प्रोत्साहन गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गरिने उनको भनाइ थियो ।

 
 
सोमबार, १५ बैशाख २०८२, १४ : ५८

प्रतिक्रिया