रुसद्वारा तीनदिने अस्थायी युद्धविरामको घोषणा

मंगलबार, १६ बैशाख २०८२, ०८ : ५८

काठमाडौं–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिनको लागि अस्थायी युद्धविरामको घोषणा गर्नु भएको छ । रुसका अनुसार यो युद्धविराम आउँदो ‘मे’ ८ तारिखदेखि शुरू हुनेछ र ‘मे’ ११ सम्म रहनेछ ।

पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर कम्तीमा ७२ घण्टाका लागि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको हो ।

युक्रेनले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोलाई उदधृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै, युद्धविराम उल्लङ्घनका घटना भएमा जवाफ दिन तयार रहेको पनि रुसी प्रशासनिक केन्द्रले जनाएको छ ।

पुटिनले इस्टरको अवसरमा यसअघि पनि अस्थायी युद्धविरामको घोषणा गर्नुभएको थियो । तर त्यसबेला एकअर्काविरुद्ध आक्रमण भएको दुवै पक्षले आरोप लगाएका थिए ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरू  गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ ।

मंगलबार, १६ बैशाख २०८२, ०८ : ५८

प्रतिक्रिया