काठमाडौं – पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम शुरु भएको छ ।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रम अनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मंगलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मंगललगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।
जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।
प्रतिक्रिया