काठमाडौं- चीनको विदेश मन्त्रालयले सोमबार चिनियाँ समकक्षी सी जिनपिङले आफूलाई फोन गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ । मन्त्रालयले दुई देशबिच ट्यारिफ युद्ध समाधान गर्न कुनै वार्ता नभएको स्पष्ट पारेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यो बयान त्यतिबेला आएको थियो जब ट्रम्पले गत हप्ता टाइम पत्रिकासँगको अन्तरवार्तामा सी जिनपिङले आफूलाई फोन गरेको बताएका थिए ।
‘मेरो विचारमा हालसालै दुई राष्ट्र प्रमुखका बिच कुनै फोन वार्ता भएको छैन,’ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भनेका थिए । उनले भने, ‘म फेरि पनि भन्न चाहन्छु कि चीन र अमेरिकाले ट्यारिफको मुद्दामा कुनै परामर्श वा वार्ता गरिरहेका छैनन् ।’
व्यापार युद्धमा चीन पनि अमेरिका विरुद्ध आक्रामक बनेको छ । यस्तोमा ट्रम्पले गत हप्ता आफ्नो अडानलाई नरम बनाएका थिए । चीनबाट अमेरिका आउने सामानहरूमा लगाइएको भारी करलाई उल्लेखनीय रूपमा घटाउने तर शून्यमा नझारिने उनले भनेका थिए ।
टाइम पत्रिकालाई दिएको अन्तरवार्तामा सीले आफूलाई फोन गरेको ट्रम्पले बताएका थिए । ‘मलाई लाग्दैन कि यो उनको कमजोरीको संकेत हो ।’ कुराकानीका क्रममा अझ अगाडि उनले भनेका थिए । शुक्रबार सीएनएनले यसबारे सोध्दा उनले थप विवरण दिएनन् । ‘म यसमा टिप्पणी गर्न चाहन्न, तर मैले उनीसँग धेरै पटक कुरा गरेको छुँ ।’ ह्वाइट हाउसबाट निस्कने क्रममा ट्रम्पले भनेका थिए ।
सार्वजनिक रूपमा उपलब्ध रेकर्ड हेर्ने हो भने सि र ट्रम्पले अन्तिम पटक जनवरी १७ मा कुराकानी गरेका थिए । यो ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनु भन्दा केही दिन अघि हो । हालैका हप्तामा ट्रम्पले बारम्बार आफ्नो प्रशासनले चिनियाँ अधिकारीहरूसँग व्यापार सम्झौताका लागि वार्ता गरिरहेको भनेका थिए । शुक्रबार, चीनको विदेश मन्त्रालयले अमेरिकालाई दुई देशबिचको व्यापार वार्ताबारे जनतालाई भ्रमित नगर्न आग्रह गरेको थियो । यो बयान ट्रम्पले टाइम पत्रिकालाई अन्तरवार्ता दिनु केही घण्टा अघि आएको थियो । -एजेन्सी
प्रतिक्रिया