काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जिफन्टले सार्वजनिक गरेको २०८१ सालको श्रम लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख रहेको हो।
अघिल्लो बर्षको प्रतिवेदनमा यो अवस्था २१.७ प्रतिशत रहेको थियो । प्रतिवेदनमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ । त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनीको संख्या ७७.२ प्रतिशत पुगेको छ । अघिल्लो प्रतिवेदनमा उक्त संख्या ७२ प्रतिशत रहेको थियो ।
त्यस्तै अघिल्लो वर्ष श्रम अडिट गरिएका उद्योग–प्रतिष्ठानमध्ये ६१.१ प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ५०.२ प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारको रूप फेरिँदै गएको अवस्थामा श्रम शोषणको मापनहरू थपिँदै गएको र श्रमिकको अधिकार खोसिदै गएको महसुस भएको बताए । यसअघि प्रत्यक्ष रूपमा रोजगारदाताहरुले शोषण गर्दै आएकोमा अहिले राज्य वा रोजगारदाताबाट भन्दा पनि अदालतलाई नै प्रयोग गरेर श्रम अधिकार खोस्ने काम भएको पाइएको बताए ।
त्यस्तै २०८० मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान ०.६ प्रतिशत रहेकोमा यसबर्ष पनि सोहि अनुपातमा रहेको जिफन्टले जनाएको छ । जिफन्टले वैशाख १८ गते प्रधानमन्त्रीको उपस्थितिमा भव्य रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने जानकारी दिएको छ ।
प्रतिक्रिया