प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

मंगलबार, १६ बैशाख २०८२, १६ : १९

काठमाडौं- प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले धारणा राखे । आजको बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’  लाई बहुमतले पारित गरेको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सांसदहरूले सहमति जनाए । 

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।

त्यस्तै बैठकबाट ‘भन्सार विधेयक, २०८१’  पनि पारित भएको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई पारित गरियोस् प्रस्तुत गरेको प्रस्तावमा संसद्का बहुमत सांसदहरूले सहमति जनाए । 

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए ।

मंगलबार, १६ बैशाख २०८२, १६ : १९

प्रतिक्रिया