एजेन्सी । रामजल मीणा भारतको प्रतिष्ठित जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सुरक्षा गार्डको रुपमा काम गर्छन् । तर अब उनी सोही विश्वविद्यालयका विद्यार्थी हुने भएका छन् ।
उनले यो वर्षको जेएनयू प्रवेश परीक्षामा नाम निकालेका छन् । उनी अब विश्वविद्यालयमा रुसी भाषाको अध्ययन गर्नेछन् ।
रामजल राजस्थानको करोली जिल्लास्थित भजेडामा निवासी हुन् ।
अभावग्रस्त परिवारमा जन्मेका रामजलले दुःख सुखमा अध्ययन गरिरहेका थिए तर सन् २००३ मा विवाह पछि भने उनले अध्ययन रोक्नु परेको थियो ।
‘घरको आर्थिक स्थिति खराब थियो । त्यसैले घरको खर्च धान्नको लागि काम गर्नुपर्ने भयो । यसले गर्दा अध्ययन निरन्तर दिन सकिएन,’ रामजलले भने ।
विभिन्न काम गर्ने क्रममा उनले जेएनयूमा सुरक्षा गार्डको काम पाए । विश्वविद्यालयमा काम गर्ने क्रममा त्यहाँको अध्ययन माहौलले हो या के हो उनमा फेरि अध्ययन गर्ने आकांक्षा जाग्यो ।
उनी काममा जादाँ सँगै पुस्तक बोकेर जान्थे । ‘ड्युटीको समयमा राउण्ड लगाइसकेपछि समय खाली हुनासाथ म किताब निकालेर पढ्थें ,’ रामजलले भने ।
त्यसबाहेक उनी घरमा पनि धेरै पढ्ने गर्थे । ‘दिनमा आठ–दश घण्टा त म पढेकै हुन्छु ,’ उनले भने ,‘तर अध्ययनलाई लिएर मैले कहिले पनि काममा लापरबाही भने गरिनँ ।’
तयारीको क्रममा उनले कसैको सहयोग नलिइ स्वअध्ययन गरेका थिए । प्रवेश परीक्षामा उनले ६८ प्रश्न मिलाएपछि उत्तीर्ण हुने विश्वास जागेको बताए ।
रामजलको सफलताले जेएनयुमा खुसीको माहौल छ । जेएनयुका विद्यार्थी संगठनका अध्यक्ष जी.साई बालाले उनको सफलताबारे बोल्दै भने ,‘काम गर्दागर्दै यसरी विश्वविद्यालयको तयारी गर्नु र त्यसमा सफल भएको कुराले हामीलाई निकै खुसी लागेको छ । विश्वविद्यालय यदी कसैको लागि हो भने उहाँहरु जस्तो व्यक्तिका लागि हो ।’
आगामी दिनको तयारीबारे कुरा गर्दा उनले यूपीएससी (भारतको संघीय लोक सेवा अयाोग) को तयारी गर्ने बताए ।
प्रतिक्रिया