मिस इङ्ल्याण्डको फाइनलमा नेपाली चेली

४ बर्ष अगाडि

काठमाडौं– मिस इङ्ल्याण्डको फाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठा राउतलाई जिताउन बेलायतबासी नेपाली समुदाय लागिपरेका छन् । उनको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यले शुक्रबार लन्डनको हयारोमा च्यारिटी डिनर आयोजना गरियो । 

सो च्यारिटीबाट करीब १० हजार पाउण्ड संकलन भएको च्यारिटीका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए । 

कार्यक्रममा उनले प्रतिष्ठा साँच्चै नै नेपाल र नेपालीको लागि ‘प्रतिष्ठा’ भएको उल्लेख गर्दै सहयोग गर्न आह्वान गरेका थिए । जसअनुसार एनआरएन मध्यपूर्व संयोजक आरसी शर्मा, एसिया प्यासिफिक रिजनल डेपुटी अर्डिनेटर बिमल कुँवर, क्षेत्री समाज युकेका पदाधिकारीसहित उपस्थित व्यक्तित्वहरुले प्रतिष्ठाको लागि सहयोगको घोषणा गरेका थिए ।  

मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि प्रतिष्ठाले च्यारिटी जुटाइरहेकी छन् । प्रभावकारी च्यारिटी गर्न सके उनलाई ‘ब्युटी वीथ अ परपोज’ टाइटल पनि हात पर्नेछ ।

कार्यक्रमा बोल्दै प्रतिष्ठाले मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेको भएपनि त्यसको पीडा भोग्नेहरुलाई मात्रै थाहा हुने बताइन् । यसो भन्दै गर्दा भावुक बन्न पुगेकी उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेका छन् । तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ ।’

उनले आफू म यस प्रतियोगिताभर मात्र नभइ भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुको सहयोग र जनचेतना जगाउन लागि पर्ने बताइन् । 

पुख्र्यौली घर नेपालको संखुवासभाको चैनपुर भएकी प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् भने अहिले बेलायत अल्डरसटमा परिवारसँग बस्दै आएकी छिन् । 

२६ वर्षीया प्रतिष्ठा करिब २२ हजार आवेदकमध्येबाट छानिएर मिस इंग्याण्ड प्रतियोगिता–२०१९ को फाइनल पुगेकी हुन् । 

अब ५४ प्रतिष्पर्धीबीच यही ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा फाइनल हुनेछ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा हुनेछ भने भोलिपल्ट ‘ग्राण्ड फिनाले’ हुने छ । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छन् ।

प्रतिष्ठाले आफूलाई जिताउन ‘मिस इंग्ल्याण्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत् सहयोग गर्न अपिल गरेकी छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया