मुस्ताङ– मुस्ताङको लेतेदेखि चीनसँगको कोरला नाकासम्म झन्डै पाँच सय कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध हुँदा ती कन्टेनर एक सातादेखि जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्।
भारी वर्षाका कारण अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मतको काम भइरहेको छ। सडक सञ्चालनमा अझै करिब एक साता लाग्ने सडक आयोजनाका प्राविधिकले बताएका छन्।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा रोकिएका छन्। यता, कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि कोरला नाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोम ल्याउन थालिएको छ।
यसअघि बाढीपहिरोका कारण कोरला नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट आयात गरिएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो। त्यसका कारण सयौँ कन्टेनर नाकामै रोकिएका थिए।
भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि मुस्ताङमा एक सातासम्म केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवासमेत प्रभावित हुँदै आएको थियो।
कोरला नाकामै रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार चीनबाट कोरला नाका हुँदै आयात गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासको पर्खाइमा छन्।
दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका सामान समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्तासमेत प्रभावित भएका छन्। चाडपर्वका लागि आवश्यक सामग्री बजारमा समयमै पुग्न नसक्दा नेपाली बजारको आर्थिक गतिविधिसमेत प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया