काठमाडौं- काठमाडौंस्थित मलेसियाली दूतावासले ‘मलेसियन फुड फेस्टिभल अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गर्ने भएको छ।
दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन तथा उच्च शिक्षाका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभल मङ्सिर ११ देखि १७ गते (२६ नोभेम्बरदेखि २ डिसेम्बर २०२६) सम्म काठमाडौंस्थित क्राउन इम्पेरियल होटलमा उक्त महोत्सव सञ्चालन हुनेछ।
दूतावासले जोम नेपाल, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेस तथा एजुकेसन मलेसिया ग्लोबल सर्भिससँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो।
एक सातासम्म चल्ने महोत्सवमा मलेसियाबाट आउने अनुभवी सेफहरूले आफ्नो पाककला कौशल तथा मौलिक विधि प्रयोग गरी विभिन्न परम्परागत मलेसियाली परिकार तयार गर्ने दूतावासले जनाएको छ।
मलाय, चिनियाँ, भारतीय तथा विभिन्न आदिवासी समुदायको सांस्कृतिक सम्मिश्रण रहेको मलेसियाली खानाको मौलिक स्वाद, सुगन्ध र मसलाको विविधता नेपाली जनसमुदायसमक्ष परिचित गराउने लक्ष्य महोत्सवले लिएको छ।
महोत्सवका अवसरमा नेपाल र मलेसियाबीचको दीर्घकालीन मित्रता र जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन ‘भिजिट मलेसिया इयर २०२६ वाकाथन’ तथा ‘माया मलेसिया २०२६’ प्रदर्शनीसमेत आयोजना गरिने छ।
मङ्सिर १३ गते बिहान ८ बजे ललितपुरको कुपन्डोलस्थित पिसिपीएस कलेजबाट वाकाथन सुरु हुनेछ भने सोही दिन बिहान १० देखि साँझ ५ बजेसम्म सानेपास्थित इन्टरनेसनल क्लबमा ‘माया मलेसिया २०२६’ आयोजना हुनेछ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा मलेसियाका परिकार, विभिन्न उत्पादन, पर्यटन, शिक्षा, हस्तकला र संस्कृतिसम्बन्धी सामग्री अवलोकन गर्न सकिनेछ।
प्रतिक्रिया