नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी निर्विरोध

शुक्रबार, ११ मंसिर २०८३, १४ : २७

काठमाडौं- नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेन्द्रराज रेग्मी चयन भएका छन् ।

शुक्रबार काठमाडौंस्थित होटल मर्क्युरमा सम्पन्न संघको ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले अब बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्थाको नेतृत्व गर्नेछन् ।

संघको नेतृत्व हस्तान्तरणसम्बन्धी अभ्यासअनुसार उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्पराले यसपटक पनि निरन्तरता पाएको हो । यससँगै कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल संघको उपाध्यक्ष चयन भएका छन् ।

नयाँ नेतृत्व चयनबारे गत बुधबार नै अनौपचारिक छलफलमा सहमति जुटेको थियो । सोही सहमतिअनुसार साधारण सभाबाट पदाधिकारी चयन प्रक्रिया निर्विरोध रूपमा टुंगिएको हो ।

संघको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित १० जना रहने व्यवस्था छ । निवर्तमान अध्यक्षको जिम्मेवारी माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाल्नेछन् ।

प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएसँगै संघको सदस्यता पनि स्वतः समाप्त हुने व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाहको कार्यसमिति सदस्य पद रिक्त भएको छ ।

शुक्रबार, ११ मंसिर २०८३, १४ : २७

प्रतिक्रिया