काठमाडौं- नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । ग्राहकलाई सहज, सुरक्षित र आधुनिक डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । मंसिर १० गते नेपाल बैंकको प्रधान कार्यालय न्युरोडमा आयोजित कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
फोनपे भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले नगदरहित कारोबारलाई थप सहज र सुरक्षित बनाउन सक्नेछन् । यस कार्डमा सहज आवेदन प्रक्रिया, व्यापक भुक्तानी सुविधा, वास्तविक समयमै कारोबारको विवरण हेर्न सकिने व्यवस्था, ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो भुक्तानी विकल्पलगायत सुविधा उपलब्ध हुनेछन् ।
यो सहकार्यले नेपाल बैंकको डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्नुका साथै ग्राहकलाई आधुनिक भुक्तानी प्रणालीमा जोड्न सहयोग पुग्ने बैंकको विश्वास छ । साथै, डिजिटल कारोबारप्रति ग्राहकको पहुँच र अनुभव सुधार गर्न पनि यसले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रविधिमैत्री, सरल र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल बैंकले पछिल्लो समय डिजिटल सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको छ । बैंकले देशभरका २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकका अनुसार हाल करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भइरहेका छन् । अन्तर्राष्ट्रियस्तरको बैंकिङ प्रविधिको प्रयोग गर्दै आएको बैंकले समयानुकूल छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया