काठमाडौं- नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका पेसागत समस्या समाधान गर्न सरकारलाई सातबुँदे मागपत्र अघि सार्दै माग पूरा नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षकका समस्याप्रति बेवास्ता गरिएको आरोप लगाएको छ। वर्तमान सरकारले समेत शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधानमा अपेक्षित चासो नदेखाएको महासंघको गुनासो छ।
महासंघका अनुसार विगतका शिक्षक आन्दोलनका क्रममा सरकारसँग विभिन्न चरणमा सहमति भए पनि ती प्रतिबद्धता व्यवहारमा लागू हुन सकेका छैनन्। वार्ताका क्रममा सहमति जनाउने तर कार्यान्वयनका बेला सरकार पछि हट्ने प्रवृत्तिले शिक्षक तथा कर्मचारीका समस्या झन् लम्बिएको विज्ञप्तिमा उल्लेख छ।
महासंघले अघि सारेका मागमध्ये शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था प्रमुख रूपमा उठाइएको छ। नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानै व्यवस्थाअनुसार निवृत्तिभरण दिनुपर्ने तथा ऐन जारी भएपछि स्थायी हुने शिक्षकका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने उसको माग छ।
त्यस्तै, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका तर आवश्यक सेवा अवधि नपुगेका शिक्षकलाई पनि निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने र अवकाश प्राप्त शिक्षकलाई समेत यो सुविधा उपलब्ध गराउनुपर्ने महासंघले जनाएको छ।
महासंघले दुर्गम तथा स्थानीय भत्ता कटौती गर्ने नीति तत्काल सच्याउन पनि सरकारसँग माग गरेको छ। विगतमा पाउँदै आएको भत्तालाई बेरुजु देखाएर फिर्ता गराउन खोजिएको विषयमा उचित निकास दिनुपर्ने उसको भनाइ छ।
विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका समस्या समाधानका लागि स्थायी दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाटै तलब तथा भत्ता उपलब्ध गराउनुपर्ने माग पनि विज्ञप्तिमा समेटिएको छ।
यसैगरी, विगतका सबै सहमतिलाई समेटेर विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री नयाँ विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न महासंघले आग्रह गरेको छ। ऐन निर्माण प्रक्रियामा संस्थागत सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्ने उसको धारणा छ।
महासंघले तेस्रो राष्ट्रिय परिषद्बाट पारित गरी सरकारसमक्ष पेस गरिएको ५४ सूत्रीय माग तत्काल सम्बोधन गर्नुपर्ने तथा शिक्षा नियमावलीअनुसार मन्त्रालयमा पेस गरिएको महासंघको विधान अविलम्ब स्वीकृत गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।
महासंघले यी मागलाई शिक्षक तथा कर्मचारीको सेवासुविधामा मात्रै सीमित विषयका रूपमा नहेर्न सरकारलाई आग्रह गरेको छ। शिक्षकको पेसागत सम्मान, सार्वजनिक शिक्षाको गुणस्तर र समग्र शिक्षा प्रणालीको सुधारसँग यी विषय प्रत्यक्ष जोडिएको महासंघको भनाइ छ।
सरकारले विगतका सहमति कार्यान्वयन गर्नुका साथै नयाँ माग सम्बोधनमा गम्भीरता नदेखाए कडा तथा निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने महासंघले स्पष्ट पारेको छ।
प्रतिक्रिया