आयोजक रुसलाई पराजित गर्दै उरुग्वे समूह विजेता

५ बर्ष अगाडि


एजेन्सी । १० खेलाडीमा सिमित बनेको आयोजक रुसलाई ३–० गोलअन्तरले पराजित गर्दै उरुग्वे समूह ए को विजेता बन्न सफल भएको छ ।
दुवै टोली यसअघि नै नकआउट चरणका लागि छनौट भइसकेको अवस्थामा आजको खेलले समूह विजेताको मात्र निर्धारण गर्ने थियो ।
दुवै टोलीले यसअघिका खेलहरुमा जीत हासिल गरेको थियो ।
प्रतियोगितामा फिफा बरियताको आधारमा सबैभन्दा कमजोर टोली भए पनि शुरुवाती दुई खेलमा अप्रत्यत्यासित नतिजा निकालेको आयोजक टोलीले उरुग्वेलाई कडा टक्कर दिने आशा गरिएको थियो ।
तर, खेलको १० औँ मिनेटमा रुस पछाडि पर्न गयो । लुइस सुवारेजले फ्रिकिक मार्फत गोल गर्दै दक्षिण अमेरिकी टोलीलाई अग्रता दिलाए ।
खेलको २३ औँ मिनेटमा उरुग्वेको प्रहार डेनिस चेरसेभलाई लाग्दै आफ्नै आत्मघाती गोल भएपछि रुस २ गोलले पछि पर्न पुग्यो ।
खेलमा फर्कने प्रयास गरिरहँदा इगोर स्मोलनिकोभले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि रुस झन दबाबमा पर्यो ।
खेलको अन्त्यतिर एडिसन कभानीले उरुग्वेका लागि तेस्रो गोल थपे ।
अब समूह विजेता बन्दै उरुग्वेले नकआउट चरणमा समूह बीको उपविजेतासँग ३० जुनमा भिड्ने छ । रुस उपविजेता बन्दै समूह बी को विजेतासँग भिड्नुपर्नेछ । यो खेल १ जुलाईको दिन मस्कोमा हुनेछ ।
जीतविहीन बन्दै बाहिरिए इजिप्ट र साउदी
उता, आजै भएको समूहको अन्य खेलमा जीतविहीन बन्दै इजिप्ट र साउदी अरेबिया समूह चरणबाट घर फर्कन बाध्य बनेका छन् ।
सोमबार भएको समूहको अन्तिम खेलमा दुई टोली १–१ गोलको बराबरीमा रोकिएका हुन् ।
यसअघि दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेका दुई टोलीबीच आजको खेल मात्र प्रतिष्ठाको लडाईं थियो ।
खेलको २२ औँ मिनेटमा मोहमद शालाहले इजिप्टलाई अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा सलमान अल फरहाजले पेनाल्टीबाट गोल गर्दै साउदीका लागि बराबरी गोल फर्काए ।
त्यसअघि खेलको ४१ औँ मिनेटमा साउदीका फहाद अल मुवाल्लादले पेनाल्टीबाट गोल गर्न चुकेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया