‘लाठी, लात्ती र मुक्का बर्साउने प्रहरीमाथि छानविन हुन्छ’

४ बर्ष अगाडि

दशरथ रङ्गशालामा पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने प्रहरी अधिकारीमाथि छानबिन हुने भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै जानकारी पाएको भन्दै घटनाबारे छानबिन हुने बताएका हुन् ।

शान्ति सुरक्षाको प्रहरी तरिका यही हो भन्ने रातोपाटीको प्रश्नमा डिआइजी थापाले भने ‘मलाई घटनाबारे रिपोर्टिङ भइरहेको छ । घटनामा भएको के हो बुझ्छु र प्रहरी दोषी देखिए उनीहरुलाई कारवाही हुन्छ ।’

फिल्डबाट ती अफिसरलाई फिर्ता बोलाउनु भयो त भन्ने प्रश्नमा उनले भने, ‘अहिले फिर्ता गरेको छैन । बुझेर आवश्यक देखिएमा फिर्ता गर्छु ।’

मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । एक सर्वसाधरणलाई कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले लात्तीले हानिरहेका थिए ।

प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि पनि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरले मुक्का हानेका छन् ।

राठौरले चापागाईँको मोबाइल खोसी उनीमाथि मुक्का हान्दा चापागाइँको कानमा चोट लागेको छ । उनको राष्ट्रिय खेलकुद परिषद्भित्रको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया