आजदेखि सबै स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएकाहरूको विवरण पठाउनुपर्ने

४ बर्ष अगाडि

आजदेखि प्रत्येक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएका व्यक्तिको विवरण आपत्‌कालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा अद्यावधिक हुने भएको छ । 

स्थानीय तहले लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला मार्फत आपत्‌कालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा अद्यावधिक गराइने भएको हो । 

बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सबै स्थानीय तहबाट हरेक खिन विवरण अद्यावधिक गराउने निर्णय गरेको हो ।  

प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराएको विवरण राष्‍ट्रिय आपत्‌कालीन कार्यसञ्‍चालन केन्द्र्रमा उपलब्ध हुने समन्वय समितिका सदस्य सचिव नारायण विडारीले बताए । 

‘स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुुहुने छ,’ उनले भने ‘यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्‍ट्रिय आपत्‌कालीन कार्यसञ्‍चालन केन्द्रमा र सो केन्द्रले आपत्‌कालीन स्वास्थ्य कार्यसञ्‍चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउनुपर्ने छ ।’ 

यसका साथै समन्वय समितिले स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख पनि प्रत्येक दिन अद्यावधिक गर्नुपर्ने उनले बताए । 

समितिले हरेक स्थानीय तहहरू तथा प्रदेशले क्वारेन्‍टाइनको व्यवस्था गरी सञ्‍चालन गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया