कोरोना भाइरस ः उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय यात्रुलाई  मास्क लगाउन निर्देशन

सोमबार, २२ बैशाख २०७७, १८ : ३९

कोरोनाभाइरसको सङ्क्रमणका कारण सङ्कटग्रस्त उड्ययन क्षेत्रले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था लागु गर्न थालेको छ।

यो साता अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीतिहरू जारी गर्दैछन्।

विश्वका अरू वायुसेवाहरूले पनि हवाई उडान शुरू भएपछि मास्कलाई बाध्यकारी बनाउने तयारी थालेका छन्।

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र वायुसेवाहरूले यसै महिनामा उडानहरू शुरू गर्ने लक्ष्य राखेका छन्।

सोमवार अमेरिकाको डेल्टा एअरलाइन्सले यात्रुहरूले चेक(इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने बताएको छ।

अमेरिकन एअरलाइन्स र युनाइटेडले पनि चालकदलका सदस्य र यात्रुका लागि मास्कलाई अनिवार्य बनाउने बताएका छन्।

अमेरिकन एअरलाइन्सका एक प्रवक्ता कुर्ट स्टाचले आफ्नो वायुसेवा यात्रुहरूले यात्रा गर्दा मानसिक रूपमा शान्तिपूर्वक यात्रा गर्ने अवसर दिन प्रतिबद्ध भएको बताएका छन्।

उनले यात्रु र चालकदलका सदस्यका लागि चाँडै नयाँ स्वास्थ्य सुरक्षासम्बन्धी कदमहरू चालिने पनि बताए।

युनाइटेड एअरलाइन्सकी प्रवक्ता म्याडी किङले सबै यात्रुले अनिवार्य रूपमा अनुहार ढाक्नुपर्ने उल्लेख गर्दै यात्रामा निस्शुल्क मास्क उपलब्ध गराइने बताइन्।

तर सबै वायुसेवाले मास्कलाई बाध्यकारी बनाएका भने छैनन्।

सोमबार, २२ बैशाख २०७७, १८ : ३९

प्रतिक्रिया