सिन्धुपाल्चोकमा भिषण पहिरो २२ घर पुरिए, कालिकोटमा ६ जनाको मृत्यु

३ बर्ष अगाडि

सिन्धुपाल्चोकको जुगल गाउँ पालिका वडा नम्बर २ लिदिमा भिषण पहिरो जाँदा गाउँ नै पुरिएको छ।  बिहान ६ बजे पहिरो जाँदा  २२ घर पुरिएको पत्रकार श्रीधर न्यौपानेले बताएका छन् ।

पहिरोका कारण केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको उनले बताएका छन् । प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए।

पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, ५ घरका सबै सदस्य सम्पर्क विहिन रहेको र १५ जना घाइते आफैं निस्किएको स्थानीयले बताएका छन् ।

पहिरो गएको ठाउँमा जान सक्ने अबस्था नरहेको कारण पहिरोमा कति जना पुरिएका छन् भन्ने अझै खुलेको छैन । अहिले उद्धार टोली हेलिकोप्टर सहित पहिरो गएको स्थानमा गएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए।

 लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको वडा अध्यक्ष प्रताप लामाले बताए। तर कसैले वस्ती स्थानान्तरका लागि पहल गरेकाे थिएन ।

घटनाको थप विवरण आउन भने बाँकी छ ।

यसैविच अविरल वर्षाका कारण  राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।

जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु  भएको हो ।

पहिरोमा  घर पुरिँदा  वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको  कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।

सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

 घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए। उनका अनुसार घर भत्केको  छ।

३ बर्ष अगाडि

प्रतिक्रिया