क्यानेडियन रेडक्रसको कन्ट्री म्यानेजर छाडेर भोलेन्टियर

३ बर्ष अगाडि

काठमाडौं – हुँदाछँदाको क्यानेडियन रेडक्रसका ‘कन्ट्रीहेड’ को पद । तलव र प्रतिष्ठाले पनि आकर्षक जागिर। समकक्षी र शुभचिन्तकहरु पीताम्बर अर्यालले उक्त पदबाट स्वेच्छाले राजीनामा दिएको सुनेर अचम्म परे ।

जागिर छोडेको केही दिनमा अमेरिकन रेडक्रसको ‘कन्ट्री म्यानेजर’. ले फोन गरेर भने तपाईले जुन निर्णय लिनुभयो, म भएको भए लिन सक्ने थिइन। तपाईले कसरी यो निर्णय लिनु भयो?’ अर्यालले जवाफ दिए ‘प्रतिस्पर्धा गरेर प्राप्त गर्ने जागिर त फेरी पनि पाउन सकिन्छ तर म जुन ठाउँमा आएँ यहाँ आउने संयोग फेरी नमिल्न पनि सक्छ।’ केहीबेर कुराकानी भयो। अर्यालको कुरामा उनले समर्थन जनाए। साथै नयाँ जिम्मेवारीको लागि बधाइ पनि दिए । 

उहाँले मात्र होइन, अर्यालले जागिर छोडेको थाहा पाएपछि धेरैले क्यानेडियन रेडक्रसका ‘कन्ट्री म्यानेजरको’ पद छाडेर नेपाल रेडक्रस सोसाइटीमा महामन्त्री भएको कुरालाई सहजरुपमा लिएनन् । लिउन पनि कसरी, कहाँको अन्तर्राष्ट्रिय स्तरको सेवा र सुविधा जागिर, कहाँको मानवीय सेवा प्रतिको जिम्मेवारी ।

सरकारले भर्खरमात्र नेपाल रेडक्रस सोसाइटीमा नयाँ पदाधिकारी मनोनित गरेर निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी दिएको छ। सरकारले छानेर महामन्त्रीको जिम्मेवारी पाउने व्यक्ति हुन अर्याल ।

क्यानेडियन रेडक्रसको कन्ट्रीहेड छाडेर नेपाल रेडक्रस सोसाइटीको महामन्त्री

वास्तवमा नेपाल रेडक्रस सोसाइटीको कार्यकाल यसको पूर्व विधान अनुरुप ४ वर्षको हुन्छ। तर निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा चुनाव गराउन सकेन। बिधानकै व्यवस्थालाई अनुसरण गरी एक बर्षको समयाअवधि थप गर्दा समेत निर्वाचन हुन सकेन।यो अवधिमा काम कारबाही सन्तोषजनक नभएको, कति मुद्दालाई सम्वोधन गर्न नसकेको लगायतका विषय राखेर गत बर्ष जिल्ला प्रशासन कार्यालयले रेडक्रसको केन्द्रीय कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको थियो। तर तत्कालिन विघटित कार्यसमितिका अध्यक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले यथासक्य छिटो चुनाव गर्नेगरी पुरानै कार्यसमितिलाई पुनस्र्थापित गरिदियो।तोकिएको समयमा समेत चुनाव हुन सकेन। त्यसपछि नेपाल सरकारले उक्त कार्यसमितिलाई विघटन गरी रेडक्रस तथा सामाजिक र मानवीय सेवामा काम गरेका अनुभवी व्यक्तिहरुलाई छनौट गरी तदर्थ समिति गठन गर्‍यो। महामन्त्री पदको जम्मेवारीका लागि उनलाई प्रस्ताव आयो। क्यानेडियन रेडक्रसका ‘कन्ट्रीहेड’ को रुपमा रहेका अर्यालले उक्त पदबाट राजीनामा दिए र सहजै नेपाल रेडक्रस सोसाइटीको महामन्त्री पद स्वीकारे। ‘मलाई छनौट गर्ने निकायले राष्ट्रिय, अन्तराष्ट्रिय रेडक्रस अभियान तथा संयुक्त राष्ट्रसंघको अनुभवलाई समेत ध्यानमा राखी यो निर्णय गरेको हुन सक्छ’, उनी भन्छन्। ‘त्यसैले अप्ठ्यारो समयमा आफूसँग भएको ज्ञान, सीप र दक्षतालाई प्रयोग गरेर नेपाल रेडक्रस सोसाइटीको गरिमा बढाउनका साथै श्रोत र साधन सम्पन्न बनाउने उद्देश्यले म यहाँ आएको हुँ।’

आर्थिक सुविधा भन्दा महत्वपूर्ण कुरा सामाजिक सेवा

अर्यालको अन्तराष्ट्रिय स्तरको जागिर क्यानेडियन रेडक्रस भने पहिलो होइन । उनी करिब १० वर्षभन्दा बढी अन्तराष्ट्रिय संस्थाहरुमै काम गरेका थिए। जुन रेडक्रस/रेडक्रिसेण्ट अभियान भित्रकै निकायहरुमा कार्यरत थिए ।त्यसभन्दा पहिलाका २० वर्ष पनि नेपाल रेडक्रस सोसाइटी अन्तर्गतका विभिन्न विभागहरुमा रही काम गरेका उनको ३० वर्षभन्दा धेरै रेडक्रस/रेडक्रिसेन्ट अभियानमा संलग्न रहेको अनुभव छ।

मानवीय सेवा बुझेका उनी जागिर छोडेर नेपाल रेडक्रस सोसाइटीको पदाधिकारी भएर आउन कुनै कन्जुस्याईँ गरेनन्। ‘पछिल्लो चरणमा आएर हेर्दा व्यक्तिले पाउने सुविधाहरु भन्दा महत्वपूर्ण कुरा सामाजिक सेवा भएको पाएँ’, उनी भन्छन्। हुनतः रेडक्रस अभियानमा कर्मचारीको हैसियतवाट विभिन्न सफल कार्यक्रमहरु समेत संचालन गरियो।‘अहिले नेपाल रेडक्रस संक्रमणकालीन अबस्थावाट गुर्जीरहेको र रेडक्रस प्रतिको जनमानसमा आएको नकारात्मक धारणालाई चिर्नका लागि मैल् यो प्रस्ताव स्वीकारे।

त्यसो त विभिन्न दातृ निकायहरुको प्रसस्तै सहयोग आउने नेपाल रेडक्रस सोसाइटीमा पनि राम्रो आम्दानी हुन्छ भन्नेहरुको कमी छैन तर त्यस्तो अवस्था भने होईन। २०७२ सालको भुकम्प पश्चात प्रतिकार्य, पुनस्र्थापना र पुनर्निमार्णको लागि प्रयाप्त मात्रामा श्रोत र साधनको उपलब्धता थियो।तर अहिले अधिकांस साझेदार निकायहरु कार्यसम्पन्न गरी फर्किसकेको अवस्था छ। निवर्तमान कार्यसमिति माथी अनियमितताको आरोप पनि लाग्यो। मानवीय सेवामा जुटेको रेडक्रस जटील र संकटपूर्ण अबस्थामा पुग्यो। श्रोत र साधनको समस्यालाई समाधान गर्ने गरी अगाडि बढ्ने एउटा चुनौती छ भने अर्कोतर्फ नेपाल रेडक्रसको विधानगत जटिलता छ । रेडक्रसको कानून छैन। रेडक्रसका करसँग सम्बन्धित मुद्दाहरु अगाडि आएका छन् । रेडक्रसमा चल अचल सम्पत्तिको कर यति विशाल हुन आउँछ यस्तो अबस्थामा मुनाफा रहित मानवीय संस्थाले सम्पति कर बुझाउन सहज छैन।यस्तै कारणहरुले गर्दा रेडक्रसको दर्ता निवकरण हालसम्म पनि हुँन सकेको छैन। यही जटीलताबाट जोगाउनका लागि सरकारले गरेको प्रस्ताव स्वीकार गरेको उनी बताउँछन्। ‘जटील अबस्था त कायमै छ तथापि नेपाल रेडक्रससंग देशव्यापी संगठनात्मक संरचना तथा स्वयंसेवी संजाल छ।अप्ठ्यारो समयमा आफूसँग भएको ज्ञान, सीप  र दक्षतालाई प्रयोग गरेर नेपाल रेडक्रस सोसाइटीको गरिमा बढाउदै  श्रोत र साधन सम्पन्न बनाउने उद्देश्यले म यहाँ आएको हुँ’। अर्याल भन्छन्, ‘पाइराखेका सुविधाहरु हेर्ने हो भने नितान्त यो स्वयंसेवी कार्य हो । तर मलाई देशको र  संस्थाको लागि केही योगदान गरौँ भन्ने भावना जागृत भई यो पद स्वीकार गरेको हुँ ।’

डाक्टर पढ्न छात्रबृत्ति मिलेन तर अन्तराष्ट्रियरुपमा मानवीय सेवा गर्ने अवसर मिल्यो 

गुल्मी जिल्लाको मालिका गाउँपालिका–६, अर्जेमा जन्मेर निम्न माध्यामिक तहसम्मको अध्ययन गाउँकै अर्जै नि.मा.वि. र हिमालय मा.वि. धुर्कोटबाट १० कक्षा पुरा गरेका अर्यालको एसएलसी पास गरेपछि डाक्टर बन्ने ईच्छा थियो। प्रयास पनि गरे तर छात्रबृत्तिमा नाम निस्केन। त्यसपछि डाक्टर पढ्ने उनको धोको अधुरै रह्यो।‘छात्रबृत्तिमा खुला प्रतिस्पर्धामा नाम आएन, पैसा तिरेर पढ्ने क्षमता हाम्रो थिएन । त्यसैले अगाडी पढौँ अव यसमा नअलमलिउँ भनी अठोटका साथ अगाडि बढे’, उनी सम्झन्छन् ‘डाक्टर बन्न नपाए पनि स्वास्थ्य क्षेत्रमै आफूलाई अगाडी बढाउनुपर्छ भनेर जनस्वास्थ्य विषय (पब्लिक हेल्थ) पढे, जुन पढाई उनको लागि विश्वभरीका विभिन्न मुलुकका मानवजातिको लागि सेवा गर्ने अवसर मिल्यो।

डाक्टर पढ्ने चाहना पूरा नभएपनि उनले अरु विषय विदेशी विश्वविद्यालयहरुमा रोजी रोजी पढे । त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकत्तोर गरेका उनले विपद्को अवस्थामा स्वास्थ्य सेवाको व्यवस्थापन कोर्स जोन्सहप्किन्स विश्वविद्यालय अमेरिकावाट पूरा गरे । साथै उनले प्राथमिक स्वास्थ्य व्यवस्थापन विषय थाईल्याण्डको महिडोल विश्वविद्यालयवाट पुरा गरेपछि सरुवारोग नियन्त्रण र भाईरोलोजी सम्बन्धी अध्ययन जापानको ओसाका विश्वविद्यालयवाट गरे । उनी भन्छन् जनस्वास्थ्य विषयमा स्नातकत्तोर(एमपिएच) गर्न फेलोसिप एकै वर्ष दुईवटा जर्मनी र नेदरल्याण्डका विश्वविद्यालयवाट प्रस्ताव आयो। एमपिएच अध्ययनको लागि मैले नेदरल्याण्ड नै रोजे उनी थप्छन। उनले हार्वड विश्वविद्यालय अमेरिकावाट विपद् तथा सशत्र द्वन्द्वमा मानव प्रतिकार्य सम्बन्धि अध्ययन र विपद् व्यवस्थापन विषयमा पोष्ट ग्र्याजुएट डिब्लोमा गरेका छन्।यसको अतिरिक्त उनले समाजशास्त्रमा स्नातकत्तोर र कानूनमा स्नातक गरेका छन्।

 रेडक्रसको जिल्ला सभापतिका छोरा केन्द्रीय महामन्त्री

चन्द्रकान्त अर्याल एकताका गुल्मीका चर्चित समाजसेवीको नाम हो । रेडक्रसको जिल्ला सभापति हुँदा उनले गरेका मानवीय सेवाका कार्यले उनलाई परिचित बनाएको थियो। उनैका कान्छा छोरा हुन पिताम्बर। बुबाले गरेको कार्यले मलाई भित्रैदेखि मानवीय सेवामा लाग्नुपर्छ भन्ने भावना जगायो, त्यो मेरो रगतमै हुनुपर्छ’, उनले गर्वका साथ भने ‘मूख्य कुरा चाहिँ आफ्नो परिश्रम हो। धैर्यताका साथ कडा परिश्रम गर्यो भने असम्भव केही छैन जस्तो लाग्छ।’ ‘हुन त बुवा रेडक्रसकर्मी भएतापनि म रेडक्रसवाट प्रकाशित विज्ञापनहरुमा खुल्ला प्रतिस्पर्धाबाटै छनौट भएको हुँ।आजपनि राज्यका सबै निकायहरुमा आम नागरीकको सरल र सहज पहुँचको लागि योग्यता प्रणालीलाई पूर्णरुपमा आत्मसाथ गर्नुपर्दछ भन्ने उनको धारणा रहेको छ।’ उनी रेडक्रससंगको संलग्नता छाड्न चाहँदैनन् किनकी त्यसमा उनी जागिर भन्दा मानवीय सेवा देख्छन । त्यसको मूख्य कारण बुबा प्रतिको श्रद्धा हो भने अर्को कुरा त्यहाँ व्यक्तिको योग्यता र अनुभवको कदर हुन्छ त्यहाँ कुनै विभेद हुँदैन।

उनले दावी गरेझैँ रेडक्रसको जागिर गरेपछि उनी कहिल्यै पछाडी फर्केर अलमलिनु परेन। सेवा प्रवेशको रुपमा सिन्धुली जिल्लामा सामुदायिक विकास परियोजनामा ३ वर्ष विकास अधिकृतको पदमा काम गरेपछि उनको सरुवा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालय, काठमाण्डौंमा भयो। केन्द्रिय कार्यालयमा आईसकेपछी रेडक्रसले खुलाएको विज्ञापनमा सहभागि भई खुला प्रतिस्पर्धावाट निर्देशककोरुपमा छनौट भए । त्यसपछि प्रजनन स्वास्थ्य तथा एच.आई.भि.एड्सको कार्यक्रम सञ्चालन गर्दै गर्दा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको दक्षिण एसिया क्षेत्रीय कार्यालयमा रही कार्य गरे ।

त्यतिबेला दक्षिण एसिया क्षेत्रिय कार्यालय अन्तर्गत श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल र माल्दिभ्सका राष्ट्रिय रेडक्रस र रेडक्रिसेण्ट सोसाईटीहरुको क्षमता अभिबृद्धि गर्ने अवसर पाएका उनी त्यो गर्दागर्दै अध्ययनका लागि यूरोप गए। जनस्वास्थ्य विषयमा स्नातकत्तोर अध्ययन गरी आईसकेपछी उनलाई नेपाल रेडक्रसले स्वास्थ्य सेवा विभागको निर्देशकको रुपमा जिम्मेवारी दियो। त्यसपछि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले अफगानिस्तानमा स्वास्थ्य कार्यक्रमको प्रमुखको रुपमा काम गर्नका लागि खटायो। फर्केपछि पुनः नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन विभागमा निर्देशकको रुपमा काम गरे ।

यसरी विभिन्न तहहरु पूरा गरेर आउँदा काम गर्ने तौर तरिकामा चुस्तता तथा व्यवसायिकता थपिँदै गयो। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दजर्नौ विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका उनको अहिलेसम्म करीव ६० देशको भम्रणको अनुभव रहेको छ। त्यसपछि यू.एन.डि.पी.को विपद व्यवस्थापन सम्बन्धी समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण (सि.डी.आर.एम.पि) कार्यक्रमको राष्ट्रिय कार्यक्रम व्यवस्थापकको रुपमा काम गरेका उनी रेडक्रसको अन्तराष्ट्रिय महासंघको क्षेत्रिय कार्यालय अन्तरगत देशिय प्रमुखको रुपमा यमनमा कार्य गरे।त्यसपछि बेरुतमा विपद तथा संकट पूर्वतयारी प्रतिकार्य तथा पुनर्लाभ कार्यक्रमको ईकाइ प्रमुखको रुपमा कार्य गरे।त्यस पश्चात क्यानेडियन रेडक्रसको कन्ट्री म्यानेजरको रुपमा विगत १ वर्ष देखि नेपालमा कार्यरत थिए। काम गर्ने क्रममा उनी स्वास्थ्य, खानेपानी तथा सरसफाई, आप्रवासन, जीवनयापन, विपद र संकट व्यस्थापन, आकस्मिक प्रतिकार्य र संस्थागत क्षमता विकासको क्षेत्रमा उनको दखलता छ। ‘३० वर्षको निरन्तर सेवाको दौरानमा यो जिम्मेवारी प्राप्त गर्न कामको अनुभव राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम तथा अध्ययनले ठूलो योगदान पुर्‍याएको छ।’

 जिम्मेवारी पाएको बेला रेडक्रस प्रति लागेको धब्बा मेटाउन प्रयत्नशिल हुन्छौ।

कतिपयले रेडक्रसको कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन भएको प्रति लक्षित गर्दै रेडक्रसमा राजनीतिकरण भयो भन्दै आलोचना गर्छन। कतिले विभिन्न आरोपहरु लगाउँछन। तर अर्याल भन्छन् ‘यसको विकल्प नै थिएन । किनकी विघटित कार्यसमितिले चुनाव गराएको भए यो अबस्था आउने नै थिएन।’

अर्यालको भनाईमा अब तदर्थ समितिका पदाधिकारी सदस्यहरुले रेडक्रसको आचारसंहिता, आधारभूत सिद्धान्तलाई पूर्णरुपमा पालना गरी रेडक्रसको उचाई बढाउन प्रतिवद्ध हुनुपर्छ । उनका अनुसार यो तदर्थ समितिले सर्वप्रथम रेडक्रस कानून पारित गराउनुपर्छ। किनकी विश्वका अधिकांश राष्ट्रिय सोसाइटीहरु सम्बन्धित देशको रेडक्रस कानूनवाट संचालित छन्।तर नेपालमा रेडक्रस सोसाइटी अन्य गैरसरकारी संस्थाहरुजस्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर चलेको अवस्था छ । ‘रेडक्रस कानून आएछि मानवीय सेवा कार्यको लागि रेडक्रस राज्यको अक्जुलरी हुन्छ र अहिले देखिएका विभिन्न समयाहरुको समाधान भई सहज वातावरणको निर्माण हुने कुरा उनी व्यक्त गर्दछन्।

त्यसका लागि अहिले संस्थाको साख जोगाउन योजनाबद्दरुपमा जुट्नु पर्ने जस अन्तरगत संस्थाको दर्ता नविकरण गर्ने र सरकारलाई तिर्नुपर्ने करसँग सम्बन्धित समस्याहरु प्रथम चरणमै  समाधान गर्दै कार्यसमितिको निर्वाचन बताउछन । त्यसपछि रेडक्रसमा पारदर्शिता, सुशासन र सहअस्तित्वलाई सुनिश्चितता गरी रेडक्रस तटस्थ र मानवीय सेवामा प्रतिबद्द छ भन्ने कुराको निश्चितता गर्नु छ। उनी भन्छन् ‘मलाई लाग्छ त्यो कार्य त्यति जटिल पनि होइन। हामी खटेर त्यसमा लाग्यौँ भने सफलता हासिल गर्न सम्भव छ। म यसमा प्रतिवद्ध छु । हामी गर्न सक्छौँ । ’

रेडक्रसमा देखिएको गतिरोध समाधान गर्ने जिम्मा सरकारले दिएपछि उनी संस्थाको पुनर्जीवन दिनेमात्र होइन संस्थाको सहज रुपान्तरणको खाकासमेत तयार गरेका छन् । त्यसका लागि पुरानै कार्यपद्दति, कार्य संस्कार र तौर तरिकालाई सुधार गरी अहिलेको उन्नत प्रविधिलाई पनि सदुपयोग गर्ने, नतिजामुखि व्यवस्थापन प्रणाली लागू गर्ने, स्वयमसेवी संस्थाहरुमा स्वयंसेवा गरिसकेपछि मैले के पाउँछु भन्दा पनि मैले के योगदान दिन्छु भन्ने भावनाको विकास गरी स्वयंसेवकहरुमा सेवाको भावना जागृत गराउने,  र संस्थामा कार्यरत कर्मचारी वा स्वयंसेवकलाई क्षमता अनुसारको जिम्मेवारी अर्थात ‘राइट म्यान इन राइट प्लेस’ प्रणाली लागु गर्ने । त्यो मध्येको अन्तिम कुरा निकै महत्वपूर्ण रहेको भन्दै उनी भन्छन् ‘रेडक्रस भित्र भएको जति पनि जनशक्ति छ सबैमा विषयगतरुपमा दक्षता छ। तर समय सापेक्ष त्यसको सदुपयोग हुन सकेको छैन। दक्ष जनशक्तिलाई उपयुक्त ठाउँमा राख्यो भने उसले संस्थाको उद्देश्य प्राप्त गर्न उच्चतम योगदान दिन सक्छ। मानवीय सेवाको लागि श्रोतहरु संकलन र परिचालन उपयुक्त ढंगवाट हुन सक्छ ।’ 

सरकारले १० वर्ष अन्तराष्ट्रिय संघसंस्थामा काम गरेका व्यक्तिबाट अपेक्षा सहित नै महामन्त्रीको जिम्मेवारी सुम्पेको धेरैको बुझाई छ। त्यसैले उनी आफुले सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्ने संकल्प गरेका छन् ।

सरकारले अहिलेको तदर्थ समितिलाई तोकेर दिएको जिम्मेवारीका अलाबा रेडक्रसमा कैयौं नयाँ कुराको पद्दति बसालेर छाड्ने उनको अठोट छ । त्यसका लागि कर्मचारी व्यवस्थापनमा पारदर्शीता, मितव्ययिता, श्रोत र साधनको समुचित परिचालन तथा जवाफदेहिता, सरकारी तथा गैर सरकारी निकायहरु संगको निकटतम समन्वय तथा सहकार्य लगाएतका कामहरुको सूची उनले बनाएका छन् । ‘विश्वका अन्य देशहरुमा भएका राष्ट्रिय सोसाइटीहरु भन्दा हाम्रो सोसाइटीले कतिपय राम्रा कार्यहरु समेत गरेको छ तर त्यसको उचित प्रचार प्रसार पनि भएको छैन। यी कुरालाई अभिलेखिकरण गर्ने, प्रचार प्रसार गर्नु पर्दछ।उनी भन्छन्, प्रकृयामुखी भन्दा पनि नतिजामुखी कार्य प्रणालीको स्थापना गर्न सहभागीतामूलक व्यवस्थापन प्रयोग गरी उन्नत प्रविधिहरुलाई कार्यपद्दतिमा आवद्द गर्ने मेरो योजना छ।’

स्वयंसेवकहरु रेडक्रस अभियानको मेरुदण्ड भएकाले स्वयंसेवी भावनाको विकास गर्न विद्यमान देशव्यापी रहेको स्वयंसेवी संजाल( समुदाय तथा विद्यालय/कलेजका युवाहरु)लाई प्रबर्द्धन र सुदृढिकरण गर्ने। उक्त स्वयंसेवी संजाललाई सदुपयोग गरेर मानवीय सेवामा गुणस्तरीय काम गर्न जुनियर युवा सदस्यहरुलाई अधिक्तम परिचालनउनको योजना छ। ‘स्वयंसेवीहरुमा सेवा गर्छौँ भन्ने भावना भएका डाक्टर तथा प्राविधिकहरु र अवकास पछिको स्वयंसेवी जीवन विताउने चाहना भएका सरकारी तथा गैरसरकारी निकायहरुवाट सेवानिवृत भएका कर्मचारीहरुलाई समेटी उनीहरुमा रहेको ज्ञान र सीपलाई मानवीय सेवा कार्यमा लगाउनु पर्ने धारणा राख्दछन्।

सरकार सवै निकायहरुको अभिभावक हो। पछिल्लो समयमा नेपाल रेडक्रस सोसाइटी र सम्बन्धित सरकारी निकाहरुसंग सुमधुर सम्बन्ध स्थापित हुन सकेको छैन । मानवीय कार्यमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।सो कार्यमा सरकारी निकायको अझ बढि महत्वपूर्ण भूमिका रहेको उनी ठान्छन् ।त्यसको लागि समन्वय र सहकार्यमा जोड दिदै विगतमा भए गरेका कमि कमजोरीहरुलाई सुधार गरी विग्रेको सम्बन्धलाई सुमधुर पार्ने उनको योजना रहेको छ।

३० वर्षे अनुभव नेपालमै प्रयोग, सुधारको शुरुवात आफैबाट

हाम्रो देशको हरेक क्षेत्रमा राजनीतिकरण हावी भएको अवस्थामा जस्तोसुकै सक्षम तथा प्रतिबद्द व्यक्तिलाई कुनैपनि जिम्मेवारी दिंदा कार्य सम्पन्न गर्न कठिनाई भएको बुझेका उनी स्वतन्त्ररुपले काम गर्न पायो भने आफूले यो क्षेत्रमा ठूलै परिवर्तन गर्ने दावी गर्छन। ‘विपद व्यवस्थापनको सम्बन्धमा हाम्रो भू–उपयोग नीति नै राम्रो छैन । भवन संहिताको प्रभावकारी कार्यान्वयन भएको छैन । आपतकालिन प्रतिकार्यको तयारी यथेष्ट छैन। विकसित मूलुकहरुमा आकस्मिक उद्धारको लागि आवश्यक उपकरण सहितको प्रतिकार्यको टोली तीन देखि पाँच मिनेट भित्र घटनास्थल पुग्छन् । त्यो स्तरमा व्यवस्थापन गर्न नसकिएला तर यो क्षेत्रमा धेरै सुधारको सम्भावना छ।’

उनले स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै परिवर्तन गर्न सकिने दावी गरे । ‘स्वास्थ्य विमा योजनाले देशको सबै क्षेत्रलाई समेट्न सकेको छैन। जोखिम व्यवस्थापन र स्थानान्तरण  कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण छ।उनले भने ‘यूरोपमा नीजि खर्चमा उपचार गर्नुपर्‍यो भने ठूलो रकम लाग्छ, आर्थिकरुपमा विपन्न ब्यक्तिहरुले यस्तो रकम व्यर्होनै सक्तैन तर त्यहाँ स्वास्थ्य विमा लागू छ । आर्थिकरुपमा विपन्न व्यक्तिहरुले समेत सजिलै उपचार प्राप्त गर्न सक्दछन् । यो सबै जोखिम स्थानान्तरण तथा जोखिम व्यवस्थापनले गर्दा अप्रत्यक्षरुपमा सक्नेले नसक्नेलाई सहयोग गरिरहेका हुन्छन्।त्यसको लागि सरकारले गरेको पहलमा अन्य निकायहरुको सहयोग र सहकार्यको आवश्यकता छ।

संयुक्त राष्ट्र संघ, नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय महासंघमा लामो समय व्यवस्थापकको रुपमा माथिल्लो पदमा रहि काम गरेको अनुभवले राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संस्थाहरुसंगको निकटतम सम्बन्ध र  समन्वय स्थापित गर्दै उपलब्ध स्रोत र साधनहरुको उच्चतम प्रयोग गरी देश विकासको लागि आवश्यक सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनको ठम्याई छ । त्यही बुझाईलाई व्यवहारमा लागू गर्न यस अघि रेडक्रस पारदर्शी भएन भन्ने आलोचना रहेकोले त्यसलाई चिर्नुपर्ने चुनौती पनि नयाँ कार्यसमितिको छ। सुधारको शुरुवात आफैबाट गर्न नयाँ कार्यसमितिले आफैवाट सकारात्मक कार्यको थालनी गरिसकेको कुरा उनी बताउछन् । रेडक्रसको आचारसंहिता र आधारभूत सिद्धान्तलाई परिपालना गर्दै अगाडि बढ्ने प्रतिवद्दता तदर्थ समितिले गरेको छ।

 ‘कार्यसमितको पहिलो बैठकवाट हामीले सुशासन, पारदर्शीता, मितव्ययिता, श्रोत साधनको समुचित प्रयोग गर्ने र बैठक भत्ता समेत नलिने भनेर प्रतिवद्धता गरेका छौँ। उनी भन्छन्, ‘रेडक्रसको केन्द्रदेखि स्थानीयस्तरसम्म सञ्चालन हुने कार्यक्रमहरुमा मदिरा र सुर्तिजन्य पदार्थको प्रयोगलाई निषेध गरेका छौ। यो भनेको रेडक्रसको आचारसंहितालाई पूर्णतः पालना गर्ने भनेको हो।’

३ बर्ष अगाडि

प्रतिक्रिया