कोरोनाले सिकिस्त शिक्षा क्षेत्र  र नयाँ शैक्षिक सत्र

भदौ १२, २०७७ | पुस्कर खड्का क्षेत्री
ajaako_artha

विकाशका पुर्बाधार मध्ये शिक्षा विकासको मुख्य आधार हो । नेपालको संविधानले शिक्षा सम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । नेपाल सरकारको समृद्द नेपाल सुखि नेपाली को नारालाई सार्थक बनाउन पनि  शिक्षाको बिकाशलाइ  महत्त्वपूर्ण रूपमा लिइएको छ । शिक्षा नागरिकको नैसर्गिक र जन्मसिद्ध अधिकार हो । नेपालले विद्यालय शिक्षामा सबैको सहज पहुँच स्थापित गर्ने लक्ष्यका साथ नीतिगत, संरचनागत, व्यवहारगत, संस्थागत तथा कार्यक्रमगत प्रबन्धमा जोड दिँदै आएको देखिन्छ । 

यस्तै परिवेशका बिच डिसेम्बर २०१९ मा चाइनाको वुहान, सहरलाई इपिसेन्टर बनाएर पहिलो पटक मानव जातीमा देखिएको कोरोना भाइरसबाट सर्ने रोग (कोभिड १९)  देखा प¥यो । नेपालमा पनि वुहानबाट  फर्केका एकजना विद्यार्थीमा २३ जनवरी, २०२० मा कोरोना पोजेटिभ पुष्टि भयो । जुन दक्षिण एशियामै पहिलो केश थियो। यसले शिक्षामा मात्रै होइन देशको समग्र सामाजिक, आर्थिक ,सास्कृतिक, भौतिक बिकाशलाई जटिल बनाइदिएको छ। 

कोभिड –१९ का कारण १ अर्व ३० करोड विद्यार्थी प्रभावित हुनेगरी विश्वभरका विद्यालय बन्द भएको कुरा युनेस्कोको विद्यालय पुनः सुचारु गर्ने प्रारूप – २०२० मा उल्लेख गरिएको छ । त्यसै गरी नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुनेगरी विद्यालय बन्द भएको छ (नयाँ पत्रिका ः २१ जेठ, २०७७) । देशभरका सामुदायिक २७७२८, संस्थागत २६०६ र धार्मिक विद्यालय ११२१ गरी कुल ३५०५५ विद्यालयहरूमा पठनपाठन प्रभावित भएको फ्ल्यास रिपोर्ट ः २०१८÷१९मा सार्वजनिक तथ्यांकले देखाउँछ। 

माथि उल्लिखित तथ्य र तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने पनि नेपालको इतिहासमा ठुलो शैक्षिक क्षति भएको सहजै अनुमान लगाउन मिल्छ । जुन तत्काल न्यूनीकरण भइहाल्ने अवस्था पनि देखिँदैन । तसर्थ महामारीले हामीलाई शैक्षिक क्षतिमात्र गराएको छैन, हाम्रा शिक्षा क्षेत्रको प्राथमिकता, ‘मेडियम अफ इन्सट्रक्सन्’, ‘मेडियम अफ डेलिभरी सिस्टम’, विद्यालय शिक्षामा ‘रिफ्रेमिङ्ग’ र ‘रिस्टक्चरिङ्ग’को लागि सुवर्ण अवसर प्राप्त भएको छ । जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको ‘प्याराडाइम सिफ्ट’ हुने देखिन्छ । 

नेपालमा पछिल्ला दिनहरूमा कोरोनाको फैलावट जिल्लागत र सङ्क्रमित सङ्ख्यागत रूपमा बढ्दो ग्राफमा फैलिएको अवस्था महामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि महामारी सँगै हाम्रा दैनिकीलाई समायोजित गर्दै पहिचान पहुँच, प्राथमिकता र प्राप्यता जस्ता सन्दर्भको बुद्धिमत्तापूर्ण उपयोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बिचबाट विभिन्न माध्यमबाट  सञ्चालन गराई विद्यालय शिक्षालाई जीवन्त राख्नुको विकल्प छैन ।

विश्वमा  करिब १ अर्व ३० करोड र नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द भएका छन् । जसका कारण समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुन गइ यो बर्षको शैक्षिक सत्र नै क्षति हुने आशंका बढिरहेको छ। यो बिचमा सरकारले विभिन्न बैकल्पिक बिधि प्रयोग गरेता पनि  देशभरका सामुदायिक संस्थागत र धार्मिक गरी जम्मा जम्मी ३५०५५ विद्यालयहरू विगत तीन महिनादेखि कतै प्रयोग विहीन छन् भने ,कतै महामारी व्यवस्थापनका केन्द्र बन्न बाध्य पुगे ।

हाल बिधालयमा निर्माण भएका क्वारेन्टाइन हटाइएको भएतापनी पहिला जस्तो नियमितकार्यमा फर्किन  निकै समय कुर्नु पर्ने देखिन्छ ।बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ ।

कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ । डब्लुएफओका अनुसार, अति विपन्न राष्ट्रका बालबालिका दिन भरीको एक छाक खानाको लागि प्रायस् विद्यालयको भर पर्दछन् ।

तर अहिले कोभिड( १९ का कारण विद्यालय बन्द भएसँगै संसार भरका करिब ३७ करोड बालबालिकाले पोषणयुक्त भोजन गुमाइरहेका छन् । दिवा खाजा कार्यक्रम लागु गरिएका ४३ जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उक्त कार्यक्रमबाट विगत ३ महिना देखि प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने अवस्था सामान्य नभएमा आ।ब। ०७७÷०७८ को बजेट वक्तव्य अनुसार ७७ जिल्लाका २८ लाख बालबालिका समेतले उक्त अवसर गुमाउने छन्। 

जसको असर विद्यार्थीको आर्थिक, शैक्षिक र पोषणमा समेत पर्न गई शिक्षणका क्षेत्रमा दीर्घकालका लागि अवसर गुम्ने खतरा देखिन्छ । बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा , बालश्रम तथा बालविवाह जस्ता जोखिम बढ्ने सम्भावना देखिन्छ । सुरक्षित समय आउनासाथ विद्यालयलाई पुनः सञ्चालन गर्न सकेनौ भने, यसले शिक्षामा अपूरणीय क्षति हुने सम्भावना उच्च रहन्छ । बालबालिकाले विद्यालयबाट अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा त्यतिकै देखिन्छ।

शिक्षण सिकाइमा भएको क्रमभङ्गताका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परी तत्काल शिक्षण सिकाइमा जीवन्त सहभागिताका लागि प्रेरित हुन सक्ने सम्भावना न्यून देखिन्छ भने अभिभावकहरू आफ्ना सन्ततिको भविष्य प्रति चिन्तित भएको देखिन्छ ।

 विशेषगरी निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको अनपेक्षित रूपमा क्षति वृद्धि भई यसको दीर्घकालमा नकारात्मक प्रभाव पर्ने हुँदा जसको मारमा विद्यार्थी र अभिभावक समेत पर्ने अवस्था रहन्छ ।यो समयमा सरकारले बैकल्पिकशैक्षिक कार्यक्रम सन्चालन गरेता पनि सोचे अनुरुप बालबालिकाहरु प्रभावित हुन सकेनन् ।

यसमा पनि बिकाशका अन्य पुर्बाधार बिकाश मा हामी कति कमजोर रहेछौ भन्ने देखियो।यो बिच केही सकारात्मक विकल्पहरु पनि जन्मिए ।जस्तै  शिक्षा क्षेत्रको रिफ्रेमिङ्ग र रिस्टक्चरिङ्गको लागि सुवर्ण अवसर प्राप्त भयो।  शिक्षा क्षेत्रमा गरिँदै आएको राष्ट्रिय लगानी र प्राथमिकतामा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने र त्यसलाइ अब को पाठ्यसामग्री मा समेटिनुपर्ने कुरालाइ थप अवसर प्रदान गरेको छ।

यसले सिक्ने सिकाउने कुरालाइ प्रविधि मैत्री बन्नका विद्यार्थी ,शिक्षक ,बिधालय लाई  प्रेरित गरेको छ ।
शिक्षण सिकाइका लागि बडेमानका भौतिक पूर्वाधार मात्र पर्याप्त होइन, जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलपूर्ण उपयोगिता तर्फ समेत ध्यान आकर्षण भएको छ । यो बिचमा बालबालिकाहरु घरायसी र ब्यबहारिक ज्ञान हासिल गर्न समेत सफल भएका छन।

नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विगत ५ महिना देखि विद्यालय शिक्षामा ठुलो क्षति भएको छ, जुन शैक्षिक जगतका लागि अपूरणीय क्षति हो । जसको उपयुक्त व्यवस्थापनमा हाम्रो अहिले को मन्त्रालयको  अन्योलताले झन जटिल बनाइदिएको छ । 

चैतमा बन्द भएका बिधालय भदौ सम्म आउदा सम्म अझै शैक्षिकसत्र सुरु गर्न सकेका छैनन् ।यो धेरै ढिलो भैसकेको छ।यस्तो परिस्थितिमा पनि शिक्षा प्रणाली भित्रको लर्निङ्गको प्याराडाइज्म सिफ्ट गर्नुको साटो परम्परागत र आउटडेटिड शिक्षण सिकाइ प्रक्रिया मै हाम्रो शिक्षण प्रणाली रुमल्लियो, यथास्थितिको पक्षपोषण गरी राख्यो । फेस टू फेस शिक्षण पद्धतिलाई कुर्दा कुर्दै नै यो समय बर्बाद गरियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नोभल कोरोना भाइरस तत्काल समाधान भइहाल्ने अवस्था देखिँदैन बरु कोरोना सँगै समायोजित भएर अघि बढ्नुको विकल्प नरहेको सन्दर्भमा हाम्रा शिक्षण क्रियाकलापहरू पनि महामारी सँगसँगै सञ्चालन गरी शैक्षिक क्षति न्यूनीकरण गर्नुको विकल्प छैन । अतः बन्दाबन्दीकै अवस्थामा हाम्रा शैक्षिक गतिविधिलाई जीवन्त राख्न र शैक्षिक जोखिमलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न तत्काल शैक्षिक गतिविधि का साथमा शैक्षिक सत्र संचालन गर्नु पर्छ।

त्यसका लागि   विद्यार्थी भर्नाका लागि विद्यालय आफैले रजिष्ट्ररमा कक्षा चढाइदिने र त्यसको जानकारी प्रत्येक विद्यार्थी र अभिभावकलाई दिने व्यवस्था गरौँ । तत्काल शैक्षिक सत्र सञ्चालन गर्नुपुर्व प्रत्येक विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुग्ने वातावरणको सुनिश्चितता गरौँ (उच्च हिमाली जिल्लामा जहाँ फागुनदेखि शैक्षिक सत्र सुरुवात हुन्छ) । पाठ्यपुस्तक सबैको हातमा पुर्याइ सकेपछि स्वःअध्ययनका लागि विद्यार्थीलाई प्रेरित गरौँ ।प्रत्येक स्थानीय सरकारले उपलब्ध तथ्याङ्कको वस्तुगत अध्ययन गरी कुन सिकाइ समूहका विद्यार्थी कति छन् र आफ्नो सामर्थ्यका आधारमा कुन उपयुक्त वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन सकिन्छ तत्काल कार्यान्वयनका लागि सोचौँ । 

जुन ठाउँमा रेडियो र एफ एम को पहुँचमा विद्यार्थी छन् त्यहाँ स्थानीय सरकारले रोष्टर शिक्षकको व्यवस्था गरी निश्चित क्रेडिट आवरमा निश्चित विषयको पठन पाठन सञ्चालनको व्यवस्था मिलाउने र यसको थप प्रचार प्रसार र प्रभावकारीताका लागि स्थानीय पत्रकार, शिक्षाविद् बुद्धिजीवीलाई परिचालन गर्ने गरी व्यवस्था मिलाउने । तत्काल पठनपाठन सुचारु गर्न प्रत्येक स्थानीय तहले साधन स्रोतको उपलब्धता र औचित्यताका आधारमा बलाङ्केट होइन ब्राकेट अप्रोचलाई अवलम्बन गर्दै उपलब्ध भएसम्म मौजुदा शिक्षकको उपयोग नभए प्रत्येक टोल टोलमा शैक्षिक बेरोजगारलाई स्वयंसेवक शिक्षकको रूपमा नियुक्त गरी पठनपाठनलाई निरन्तरता दिने प्रबन्ध गरौँ ।

महामारीका कारण गुम्ने खतरामा रहेको शिक्षण सत्रका दिनहरु  पुनः प्राप्त गर्न विशेष अभ्यासहरू, सिकाइ विधिको सुदृढीकरण र दूर शिक्षा जस्ता विधिको प्रयोग मार्फत मिश्रित शिक्षण प्रणालीको विकासमा विशेष जोड गरौँ ।मन्त्रालय ले पटक पटक घोषणा गरेका कुरालाइ बिशेष  लागू गरौ।कोरोना को कहर यस्तै हो ,यो अनिश्चित छ त्यसैले शैक्षिक सत्र नोक्सान हुने खतराको नीतिनिर्माता तहबाट छिटोभन्दा छिटो सम्बोधन गरौ।

यसका लागि फेरीपनी लगनशील विद्यार्थी, समर्पित शिक्षक, जिम्मेवार व्यवस्थापन, उत्तरदायी अभिभावक र प्राज्ञिक वातावरण र सबै तहका सरकारहरु समन्वय गरि यो अनिश्चितता अन्त्य गरौ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८