साँखु –फट्केश्वर सडक कालोपत्रे हुने

३ बर्ष अगाडि

जिल्लाको उत्तरपश्चिमी भेगको ‘लाइफ लाइन’ साँखु –फट्केश्वर सडक कालोपत्रे हुने भएको छ । 

उक्त सडक काठमाडाँ जिल्लाको शङ्खरापुर नगरपालिकाका साँखु, जहरसिंह पौवा, नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भई पुष्पलाल मध्यपहाडी लोकमार्गको बाहुनीपाटीमा गएर जोडिन्छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, शङ्खरापुरका प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधि र सरोकार पक्षको विशेष पहलमा कालोपत्रे हुन लागेको हो । 

सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु गाउंँपालिका, पाँचपोखरी थाङ्पाल गाउंँपालिका र इन्द्रावती गाउँपालिकाको प्रवेशमार्गका रुपमा रहेको सो सडक कालोपत्र गर्नका लागि लामो समयदेखिको मेहनत सफल भएको जनप्रतिनिधिले जनाएका छन् । 

भविष्यमा काठमाडौंँ  र सिन्धुपाल्चोकको उत्तरपश्चिमी भेगका जनताले ठूलो राहत पाउने सांसद तामाङले बताए ।

शङ्खरापुरका प्रमुख श्रेष्ठले दोस्रो चरणको बोलपत्र प्रक्रिया अगाडि बढिरहेको जनाउँदै करीब रु ३१ करोड बजेट व्यवस्थापन भई केही दिनभित्रै  खुल्ने बताए ।

हाल सो सडकखण्डअन्तर्गत काठमाडौँको जहरसिं पौवादेखि  सिन्धुपाल्चोकको फट्केश्वर सडकखण्डको करीब पाँच किमी सडक कालोपत्रका लागि गत महिना बोलपत्र भई कम्पनीका तर्फबाट निर्माणपूर्वको विस्तृत सर्भे भइरहेको छ । 

 आगामी असोज १० गतेदेखि निर्माण शुरु गरिने निर्माण कम्पनी मञ्डनभगवती रतुवाकमलजित निर्माण सेवाका प्रतिनिधि हीरा चौलागाईंँले बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया