कोरोनाका बीच पनि  सकियो  ‘बन्टी बबली २’ को छायांकन

३ बर्ष अगाडि

कोरोना भाइरसको माहोलबीच सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी वाघले फिल्म ‘बन्टी और बबली २’ को छायांकन पूरा गरेका छन् । फिल्मको पूरै छायांकन स्टूडियोभित्र गरिएको छ । छायांकनका लागि यशराज फिल्म्सले सेटमा सबै सुरक्षा उपाय पालना गरेको थियो । प्रोडक्शन हाउसले सेटमा उपस्थिति हरेक एक सदस्यको कोरोना परीक्षण गराएको थियो । 
 
फिल्मको सुटिङ सेटमा मेडिकल स्टाफको समेत व्यवस्था गरिएको थियो । योसँगै सुटिङ सेट सुरक्षित बनाउन निर्माण टिमले पूरै कास्ट एन्ड क्रियूको सुटिङभन्दा पहिला क्वारेन्टाइन प्रक्रिया पालना गर्न निर्देशन दिएको थियो । निर्देशक वरुण शर्माले सुटिङ सेटमा सबै सुरक्षा सावधानी अपनाइएको जानकारी दिए । उनले फिल्मको सेटमा कुनै अनपेक्षित घटना नभएको पनि बताए ।
 
उनले भने, ‘कलाकारसहित पूरै टिम मेम्बरको छायांकनभन्दा अगाडि कोरोना परीक्षण गराइएको थियो र होटलमा क्वारेन्टाइन गरिएको थियो । छायांकनको क्रममा फिल्मका कुनै सदस्यले कसैसँग भेट गरेनन् । हामीले सुरक्षाको सर्वोच्च उपायको पालना गर्दै काम सकायौं । म खुसी छु कि सबै कुरा ठीक तरिकाले भयो र यसले पूरै फिल्म उद्योगलाई छायांकनमा फर्किन हिम्मत मिल्नेछ ।’
 
अभिनेता सैफ अली खानले फिल्मको सुटिङ सेटमा आफूले घरभन्दा बढी सुरक्षित महशुस गरेको बताएका छन् । उनी भन्छन्, ‘सेटमा निकै रमाइलो भयो । यशराजले सुरक्षाको सबै उपाय अपनाएको थियो । हामीलाई यहाँ घरभन्दा बढी सुरक्षित महशुस भएको थियो ।’ यो फिल्मा सैफको रानीसँग जोडी बाँधिएको छ । यसअघि यी दुईले थुप्रै सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया