ओलीको चाकडी गर्नेले पाए पदक

३ बर्ष अगाडि

संविधान दिवसका अवसरमा आँखा विशेषज्ञ डा. सन्दुक रुइतले यस वर्षको सर्वश्रेष्ठ सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) पदक पाए । नेपालको आँखा उपचारमा उनले गरेको योगदानका कारण उक्त पदक पाउनु स्वाभाविक हो । 
कोरोनाको उपचार र अन्य व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिले पदक पाए । उनीहरूले पनि योगदानका आधारमा पदक पाउनु स्वाभाविकै हो ।

 तर यस वर्ष विभूषित ५ सय ९४ जनामध्ये कतिपयको पृष्ठभूमि र कार्यशैली केलाउने हो भने पदक र विभूषणको आधार र औचित्य खुल्दैन ।
सरकार, सरकारी व्यक्ति र सत्तारूढ दलको प्रशंसा गर्नेलाई हरेक वर्ष प्रदान गरिने पदक र विभूषणमा ठूलो धनराशि खर्च हुने गरेको छ । केही साताअघि लेखक बद्री विशाल पोखरेलले प्रधानमन्त्रीको अस्वाभाविक प्रशंसा गरेर गोरखापत्रमा लेख प्रकाशित गरेका थिए । पदक पाउनेहरूको सूचीमा उनको समेत नाम छ । 

रमेश सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त नजिकका शैक्षिक व्यवसायी हुन् । उनले दुई पटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव हुने अवसर पाए । त्यतिले पनि नपुगेर सरकारले उनैलाई पदक दियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सुभाष आचार्य अब्बल चिकित्सक हुन् । यस पटक संविधान दिवसका अवसरमा पदक पाउनेमा उनको समेत नाम छ । करिब ६ महिनाअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रत्यक्ष संलग्न भएकाले उनले पदक पाए । मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले पनि पदक पाएका छन् । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न उनले कानुनमा व्यवस्था नै नभएको अवस्थामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालबाट मानव अंग प्रत्यारोपण केन्द्रमा नियुक्ति पाएका थिए । अहिले पदकमा पनि उनी छुटेनन् । कान्तिपुरमा खबर छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया