‘कृष्ण लीला’ मा पुष्प र दीपिका अनुबन्ध

३ बर्ष अगाडि

कोरोनाको त्रास बढेसँगै सरकारले लकडाउन घोषणा गरेपछि ठप्प रहेको फिल्म क्षेत्रमा अब भने चहलपहल सुरु हुन थालेको छ । सरकारले फिल्म निर्माणको अनुमति नदिए पनि निर्माताहरु कोरोना महामारीपछि छायांकन सुरु गर्ने गरी नयाँ फिल्मको घोषणा गरिरहेका छन् । झण्डै ७ महिना कामविहीन भएर बसेका कलाकारहरुले पनि अहिले धमाधम फिल्म साइन गरिरहेका छन् । 
 
यसबीच, अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं ‘कृष्ण लीला’ नामक फिल्ममा अनुबन्ध भएका छन् । उनीहरुसँग गएको हप्ता निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्मलाई ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्दैछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले केही हप्तादेखि फिल्मको कथा, पटकथा तथा संवादमा काम गरिरहेका छन् । 
 
कमेडी विषवस्तुमा निर्माण हुन लागेको फिल्ममा पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको बारेमा जानकारी दिँदै पुष्पले भने( ‘लकडाउनमा मैले ४र५ वटा फिल्मको स्क्रिप्ट पढेँ । त्यसमध्ये मन परेको फिल्म ‘कृष्ण लीला’ हो । अहिले स्क्रिप्टमा वर्कआउट भइरहेको छ ।’ फिल्ममा उनी लभर ब्वाईको भूमिकामा देखिनेछन् ।
 
निर्देशक दीपक ओली असोज १५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने सोचमा छन् । तर, सरकारले छायांकन अनुमति नदिएका कारण उनी अन्योलमा छन् । ‘कृष्ण लीला’ मा पुष्पलाई दर्शकले भिन्न भूमिकामा देख्न पाउने उनले बताए । अर्जुन पोखरेलको संगीत रहने फिल्मको प्रस्तुतकर्तामा रोहित कट्टेल छन् । फिल्मका निर्माता रत्न श्रेष्ठ हुन् । शिव ढकालले फिल्म खिच्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया