साम्राज्ञीलाई हतारो कि आलोचकलाई जवाफ ?

३ बर्ष अगाडि

एउटा सत्य के हो भने अभिनेत्री साम्राज्ञी आरएल शाह जति नै विवादित बने पनि उनको नेपाली फिल्ममा माग घटेको छैन । लकडाउनयता उनलाई अफर भएका र साइन गरेका फिल्मले पनि यो कुरा प्रमाणित गर्छ । ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि निराश भएकी उनको पाइपलाइनमा अहिले तीन फिल्म छन् र तिनै फिल्ममा महंगो पारिश्रमिक बुझेकी छन् ।
 
‘रातो टीका निधारमा’ गर्नुभन्दा अगाडि नै साम्राज्ञीले १६ लाख पारिश्रमिकमा निर्देशक हेमराज विसीको फिल्म साइन गरेकी थिइन् । यसमा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन् । निर्देशक विसी कोरोना महामारी पूर्ण रुपमा अन्त्य भएपछि फिल्मको छायांकन थाल्ने सोचमा छन् । लकडाउन खुकुलो भएपछि साम्राज्ञीले निर्देशक प्रवेश पौडेलको नयाँ फिल्म साइन गरिन् ।

यही मंगलवार उनी अर्को एक फिल्ममा अनुबन्ध भएकी छन् । रमेश एम।के पौडेलले निर्देशन गर्ने फिल्म ‘रेड वाइन’ मा उनले अभिनेता पल शाहसँग रोमान्स गर्दैछिन् । यो फिल्ममा उनले १२ लाखभन्दा बढी पारिश्रमिक बुझेको जानकारी प्राप्त छ । यस्तै, साम्राज्ञीले ‘प्रेमगीत’ सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’ मा पनि काम गर्ने सम्भावना प्रवल छ ।
 
‘रातो टीका निधारमा’ पछि झण्डै ६ महिना उनी कुनै फिल्ममा आबद्ध भइनन् । तर, अहिले लगातार फिल्म साइन गर्नुलाई धेरैले विभिन्न कोणबाट अर्थ्याएका छन् । पछिल्ला फिल्मको असफलता र एकपछि अर्को विवादका कारण उनको करिअर सकिएको कतिपयको टिप्पणी थियो । यसको जवाफकै खातिर उनले लगातार फिल्म साइन गरेको हुनसक्ने एकथरीले आँकलन गरेका छन् ।
 
तर, आफ्ना आलोचकलाई जवाफ दिन उनले हतारमा फिल्म साइन गरेकी हुन् भने भोलीका दिनमा त्यसको परिणाम उनको करिअरका लागि घातक सावित हुनसक्छ । किनकि, कलाकार भएपछि फिल्मको कन्टेन्ट र आफ्नो भूमिकामा ध्यान दिनुपर्छ । पब्लिक फिगर भएपछि आलोचनालाई सामान्य रुपमा लिनसक्नु पर्छ । यसका लागि करिअर नै दाउमा लगाउनु राम्रो होइन ।
 
हतारको निर्णयले फुर्सदमा पछुताएका कलाकार नेपाली फिल्म क्षेत्रमा धेरै छन् । साम्राज्ञीले पनि केही फिल्मबाट यो भोगिसकेकी छन् । उनले लकडाउनको समयमा सामाजिक सञ्जालमा आफ्ना प्रशंसकको जवाफ दिने क्रममा अब वर्षमा १ वा २ वटा फिल्ममा मात्र काम गर्ने बताएकी थिइन् । तर, अहिले भकाभक फिल्म साइन गर्नुले उनी आफ्नो अडानमा बस्न नसकेको देखिन्छ ।
 
‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा चित्रित गरिएको थियो । तर, यसपछि उनले जति पनि फिल्ममा काम गरिन्, कुनैले हिटको सुख दिन सकेनन् । त्यसमाथि श्रृंखलाबद्ध विवादले उनको करिअरमा ठूलो असर गर्‍यो । यद्यपि, उनीप्रति निर्माता तथा निर्देशकको विश्वासमा भने कमी आएको देखिन्न ।

३ बर्ष अगाडि

प्रतिक्रिया