दबाबमा प्रधानमन्त्री, मन्त्रिपरिषद् पुनर्गठन तयारी

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ राखेका थिए ।

‘पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आएको छ । तपाईंहरू कोही कसैले अन्यथा नमान्नुहोला । कुनै पनि बेला हामीमध्ये केही साथीहरू मन्त्रिपरिषद्बाट बिदा हुनुपर्ने अवस्था आउन सक्छ’, एक मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले कोही असफल भएर हट्नुपर्ने बाध्यता नभएको तर पार्टीको निर्णय कार्यान्वयन गर्दा हेरफेर हुनसक्ने बताएका थिए । निकै लामो समयसम्म सञ्चालित बैठकमा प्रधानमन्त्रीले निकै बेर आफ्ना कुरा राखेका थिए । ‘प्रधानमन्त्रीज्यू विषयमा धेरै बेर आफ्ना धारणा राख्नुहुन्छ त्यही भएर पनि बैठक ढिलासम्म भएको हो’, एक मन्त्रीले भने ।  

मन्त्रिपरिषद् बैठक बस्नुअगाडि दिउँसो नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच तीन घण्टा छलफल भएको थियो । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति भएको स्रोतले बतायो । नागरिक दैनिकमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया