पूर्वमाओवादी नेतालाई काखी च्याप्दै, मन्त्री बनाउँदै प्रधानमन्त्री ओली

३ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपामा संकट समाधान र पार्टी, सरकार संचालन प्रभावकारी बनाउनको लागि स्थायी कमिटि बैठकले दिएको सुझाव अनुसार मन्त्रिपरिषद् हेरफेरको तयारी भैरहेको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगत पाँच दिनदेखि घनिभूत छलफलमा छन् ।

तर प्रधानमन्त्री ओली भने यहि मौकामा आफू पार्टी कमिटीमा शक्तिशाली बन्नको लागि इतर समूहभित्र खेलिरहेको नेकपाभित्र चर्चा छ । प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीको कार्यशैलीमै प्रश्न उठाउँदै बैठकबाटै राजिनामा मागेपछि पूर्ण अल्पमतमा देखिएका ओली अब बन्ने मन्त्रीमण्डलमा आफूलाई सहयोग गर्ने अनुहारको खोजि गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहभित्र आफ्नो पकड जमाउन यो अवसर नगुमाउनेगरी लागि परेको प्रष्टै देखिएको नेकपाकै एक नेताले दाबी गरेका छन् । ओलीले पूर्व एमालेबाट भन्दा बढी पूर्वमाओवादीबाट कसलाई मन्त्री बनाउने भन्ने अनुहार खोज्नुले त्यसको पुष्टि गर्दछ ।

प्रधानमन्त्री ओलीले पूर्वमाओवादी भित्र शक्तिशाली अनुहार खोजिरहेका छन् । अझ प्रष्ट भन्दा भोलिका दिनमा आफू अफ्ठ्यारो परेको खण्डमा काँध थाप्ने नेता ओलीले खोजिरहेका छन् ।

यसअघि गृहमन्त्री राम बहादुर थापा बादल र आपूर्तिमन्त्री लेखराज भट्ट जस्तै अनुहार उनले खोजेको प्रचण्ड समुहका एक स्थायी कमिटि सदस्यको दाबी छ । थापा र भट्टले यसअघिको संकटमा प्रचण्डको साथ् छाडेर ओलीलाई काँध थापेका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्रीहरु टोप बहादुर रायमाझी र जनार्दन शर्मालाई अबको मन्त्रीमण्डलमा ल्याउन मुख नै खोलिसकेका छन् । केही समयअघि पार्टीमा विवाद चर्कँदा आफूलाई सघाएकोले नेता टोपबहादुर रायमाझी र मझधारको भूमिका खेलेकाले जनार्दन शर्मा प्रभाकरलाई ओलीले मन्त्री बनाउन खोजेको बुझिएको छ ।

पूर्वमाओवादी खेमाका रायमाझी र शर्मा प्रचण्ड समुहका शक्तिशाली नेताहरू हुन् । यी दुई नेताहरूले समेत क्याम्प परिवर्तन गर्दा प्रचण्ड अफ्ठ्यारोमा पर्ने बालुवाटारको ठम्याई छ ।

अहिले पार्टीभित्रैको झगडा मिलाउन मन्त्रिपरिषद् हेरफेर र विस्तारको लागि दौडधुप बाक्लिएको छ । त्यसमा पनि प्रधानमन्त्रीको चाहना मन्त्रिपरिषद्मा थोरै मात्र हेरफेर गर्ने भन्ने छ भने प्रचण्डले केही मन्त्रीहरु मात्र राखेर बाँकी सबै हेरफेर गर्नुपर्ने पक्षमा छन् ।

मन्त्रीहरु हेरफेर गर्दा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमेत हट्न सक्ने आंकलन गरिएको छ ।

अर्यालले आफू हट्न सक्ने देखेपछि हठात् वर्षौँदेखि रोकिएको कित्ताकाट खुलाउने निर्णय गरेकी थिइन् । उनि नजिककाहरू आफ्नै पालामा कित्ताकाट नखुलाउँदा अर्यालले धेरै गुम्न सक्ने देखेर हतार हतार कित्ताकाट खोलेपनि सर्वोच्वले निर्णय कायान्वयन गर्न रोक लगाइदिएको छ ।

प्रधानमन्त्रीको रोजाइमा परेका रायमाझी उपप्रधान मन्त्री भइसकेका र शर्मा गृहमन्त्री भइसकेका नेता हुन् ।

रायमाझी पछिल्लो विवादमा प्रधानमन्त्री ओलीलाई साथ् दिएका थिए । स्रोतका अनुसार बालुवाटारमा लामो छलफल पछि शक्तिशाली मन्त्रालय पाउनुपर्ने माग राखेपछि ओलीले समर्थन जनाएका थिए । त्यसलगत्तै रायमाझी ओली क्याम्पमा लागेका थिए ।

जनार्दन शर्मा भने अहिलेसम्म प्रचण्ड क्याम्पमै देखिएका छन् । तर उनले पछिल्लो विवाद मिलाउन महत्वपुर्ण भूमिका खेलेका थिए । पार्टी एकता गर्दा र पार्टीलाई फुटबाट बचाउन उनको भूमिका रहेको बताइन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया