यात्रु  बढेपछि भरतपुर विमानस्थलमा दैनिक पाँच उडान

३ बर्ष अगाडि

भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ ।  भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए  । उनले भने, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।” यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । “यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो”, कुँवरले भने, “अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।” 

बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताए  । “जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ”, उनले भने, “कोभिडसम्बन्धी सबै सावधानी अपनाएर उडान भरिरहेका छौँ ।” बुद्धको भरतपुर पोखरा उडान भने तत्काल सञ्चालनमा नआउने उहाँले जानकारी दिए ।

यती एयर भरतपुरका स्टेसन इञ्चार्ज अनुप ढकालले जहाज ३० सिट क्षमताको भए पनि स्वास्थ्य सुरक्षा मापदण्डको हिसाबले २० देखि २५ जनामात्रै उडाउने गरेको बताए  । काठमाडौँबाट आउनेभन्दा पनि जाने यात्रुको सङ्ख्या बढिरहेको उनले बताए  । “उडान हामीले सोचेभन्दा राम्रो छ”, उनले भने, “पारिवारिक सदस्यलाई मात्र सँगै बस्न दिएका छौँ, अन्यलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरेका छौँ ।” छ महिनासम्म उडान नहुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक १३ वटासम्म उडान हुने गरेको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया