मध्यरातमा कसरी भयो सरकार–केसीबीच सहमति

३ बर्ष अगाडि

सरकार र डा गोविन्द केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । 

आजको कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा दिव्यासिंह शाहमार्फत डा केसीसँग संवाद अघि बढाएका थिए । उनी प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत हुन् । प्रधानमन्त्रीकै दबाबमा उनी डिन नियुक्त भएकी थिइन् ।

सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । वरिष्ठ चिकित्सकहरूसहित नागरिक समाजका अगुवाहरूले पनि सत्याग्रहीको जीवनरक्षाका लागि अपिल गरेका थिए । दुई पक्षीय वार्ता टोलीबीच बिहीबार नै सहमतिको खाका तयार भइसकेको थियो ।

 डा शाहको पहलमा प्रधानमन्त्री र डा केसीसँग समन्वय गरेर सहमतिपत्रलाई अन्तिम रूप दिइएको वार्ता टोलीका एक सदस्यले जनाए । शनिबार राति शिक्षण अस्पतालमा वार्ता टोली डाकेर सहमतिमा हस्ताक्षर गरियो । शिक्षामन्त्रीसहितको टोलीलाई भने प्रधानमन्त्री ओलीले नै कोरोनाका बेला वार्ता भनेर भुल्ने समय नभएको भन्दै फिर्ता पठाइदिएका थिए । ‘सरकारी टोली एकातिर, केसीको वार्ता टोली अर्कातिर थियो, त्यसलाई प्रधानमन्त्रीसम्म जोड्ने र कन्भिन्स गर्ने काम दिव्या म्यामले गर्नुभयो,’ डा केसी पक्षीय वार्ता टोलीका एक सदस्यले भने ।
 शनिबार राति बिहीबारकै मस्यौदालाई परिमार्जन गरेर सरकार र डा केसीबीच सहमति भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया