जाजरकोटमा दर्जन पुल निर्माण अन्तिम चरणमा

३ बर्ष अगाडि

भेरी करिडोरमा पुल निर्माण कार्य तीव्र बनाएको छ ।  

करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

पश्चिम जाजरकोट हुँदै पूर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुन लागेका हुन् । भेरी करिडोरअन्तर्गत छेडागाड–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा यो सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छवटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छवटा पुलको काम अन्तिम चरणमा पु¥याएको छ ।
    
तोकिएको समयभन्दा ढिलो गरी निर्माणकार्य सम्पन्न हुन लागेका यस खण्डका पुलहरु डिजाइनमा समस्या आएपछि केही समय ढिला भएको रसुवा सूर्य कन्स्ट्रक्शन जेभीका सञ्चालक सूर्यबहादुर खड्काले बताउनुभयो । लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ ।

यस सडकखण्डको जिरोविन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलको लागि बोलपत्र आह्वान भएको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला ९खुमाउरी०, त्राँत्रगाडखोला र ताँसुखोला ९चौखा० मा पुल निर्माणका लागि काम शुरुको प्रक्रिया अगाडि बढिसकेको छ । यो मध्ये नलगाड नदी र झुर्मेखोलामा पुस मसान्तभित्र पुल निर्माण कार्य सम्पन्न भइसक्ने छ ।  सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो । त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि  बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ ।

रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो । त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुईवटा पुल निर्माणका लागि बोलपत्र आह्वानको कामसमेत भएको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि कालोपत्र गर्न शुरु भएर काम चालू अवस्थामा छ ।

यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुलपुलेसा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारण वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताउनुभयो । पासागाडबाट यो सडकखण्डको कालोपत्रको कामसमेत शुरु भएको छ । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रोसामु अवसर र चुनौती दुवै रहेको जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”
 

३ बर्ष अगाडि

प्रतिक्रिया