पल र साम्राज्ञीले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दै, फिल्म ‘रेड वाइन’ मा श्रीमान्(श्रीमती

३ बर्ष अगाडि

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । गएको महिना उनीहरुले यो फिल्म साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण फिल्मप्रति धेरैको चासो बढेको छ ।
 
यी दुई कलाकार एकसाथ काम गर्ने अवसर जुटेकोमा खुसी छन् । फिल्ममा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ । सविर श्रेष्ठले फिल्मको पटकथा तथा संवाद तयार पारिसकेका छन् । ‘राज्जा रानी र रुद्रप्रिया’ को निर्माण गरिसकेका रमेश एमके पौडेलले पहिलो पटक फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् ।
 
आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको यसै वर्षबाट छायांकन सुरु गर्ने तयारीमा निर्माता पौडेल छन् । फिल्मको अधिकांश छायांकन अमेरिकामा गरिँदैछ । यसका लागि कलाकारको भिसा प्रक्रियाको तयारी भइरहेको जानकारी प्राप्त छ । अमेरिकी दुतावासले भिषा दिएको अवस्थामा पल र साम्राज्ञी पहिलो पटक अमेरिका उड्नेछन् । 
 
रमेश एमके पौडेलले फिल्मले अमेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथा पेश गर्ने बताए । उनका अनुसार, पल र साम्राज्ञी फिल्ममा श्रीमान्(श्रीमतीको रुपमा प्रस्तुत हुनेछन् । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । पासाङ लामा र आर्यन पौडेलले फिल्मको निर्माण गर्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया