संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा

३ बर्ष अगाडि

बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् ।

हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै गएका हुन् । पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा यहाँ आएर तामाको खानी खनेका कारण यो गाउँको नाम पाण्डवखानी रहन गएको किंवदन्ती छ ।

पाण्डवखानीको ग्याथरमा पाँच पाण्डवले नुहाउने गरेको पञ्चधारा, त्यस क्षेत्रमा रेगिश्वरे मन्दिर र पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा कुन्तीमाईको मन्दिर छ । अहिले पञ्चधारासहित ती मन्दिर संरक्षणको अभावमा निकै जीर्ण अवस्थामा छन् । संरक्षणको अभावका कारण पाँच पाण्डवले नुहाएको पञ्चधारा पुरिने अवस्थामा छ भने रेगिश्वरे मन्दिर र कुन्तीमाई मन्दिर जीर्ण अवस्थामा पुगेको छ ।  धृतराष्ट्रका भाइ पाण्डुका पत्नी कुन्तीबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीबाट नहकुल र सहदेव जन्मिएका थिए । यी पाँच जनालाई पाण्डवका रुपमा व्याख्या गरिएको छ । धृतराष्ट्रका छोराहरू भने पाण्डवलाई देखिसहँदैनथे । उनका सय जना छोरामध्ये दूर्योधन र दुशासन उद्दण्ड थिए ।

कौरवहरू धुर्त, स्वार्थी र घमण्डी थिए । उनीहरू विभिन्न षड्यन्त्र गरेर पाण्डवलाई दुःख दिने योजनानुसार एक दिन कौरवले सल्लाह गरी पाण्डवसँग पासा खेल्ने र हराउने योजना बनाए । पासा खेल्दा पाण्डवले जितेमा कौरवले आफ्नो आधा राज्य उनीहरूलाई दिने भए । पाण्डवले हारेमा उनीहरूले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास जानुपर्ने शर्त राखियो । जालझेल गरेर कौरवले पासा जितेपछि शर्तानुसार पाण्डवले राज्य छाडेर वनवास लागे । वनवासकै क्रममा बागलुङ जिल्लाको पाण्डवखानीमा केही समय आएर बसेको किंवदन्ती रहेको ७७ वर्षीय स्थानीय पुनराम पुन बताउनुहुन्छ ।

“मैले पनि हजुरबाले भनेको सुनेको हुँ, पाण्डवहरुले आएर तामाखानी खनेको, पञ्चधारामा नुहाएको कुरा”, पुनले भन्नुभयो, “तर यहाँ तामाकोे खानीको अवशेष छ, पञ्चधारा पनि छ र पाण्डवका ठूली बैनी रेगिश्वरेको नाममा र आमा कुन्तीको नाममा मन्दिरसमेत भएकाले विश्वासयोग्य छ ।” पाण्डवकी आमा कुन्ती पनि नुहाएर फर्कने क्रममा सोही स्थानमा मृत्यु भएकाले पाण्डवखानीको झियाथरस्थित पाण्डवखानी माध्यमिक  विद्यालयको प्राङ्गणमा उहाँको शव गाडिएकाले कुन्ती माता मन्दिर निर्माण गरिएको बताइन्छ । इतिहास बिर्सदै गएको सन्दर्भमा यसको खोज, संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने उहाँको जोड छ ।

निकै गर्विलो इतिहास बोकेको यस क्षेत्रको संरक्षण नहुँदा इतिहास मेटिदै जाने सम्भावना रहेको स्थानीयवासी बताउँछन् । माङ्खोलाको किनारमा अवस्थित पाण्डवले नुहाएको पञ्चधारा, नुहाएपछि पूजा गर्ने शिवलिङ्ग र रेगिश्वरे मन्दिर रहेको स्थानमा वनज¬ङ्गलले ढाकेको मात्रै छैन, त्यहाँ पुग्ने बाटोसमेत अस्तव्यस्त भइसकेको छ । 

एउटै ढुङ्गालाई कुँदिएर पाँचवटा प्वालबाट पानी आउने बनाइएको धारा अहिले पुरिने अवस्थामा पुगेको छ । धारामा लेउ भरिएर पानी खस्नै छोडेको छ । परापूर्वकालमा पाँच पाण्डव वनवास आएको समयमा पाण्डवहरुले त्यस स्थानमा नुहाउने र पूजापाठ गर्ने गर्दै आएको कथन छ । विसं १८१९ सम्म पञ्चधारा पुरानै अवस्थामा रहे पनि सोही वर्ष आएको बाढीले पञ्चधारामा क्षति पुगे पनि विसं २०४८ मा पुनःनिर्माण गरिएको पुनराम बताउनुहुन्छ । पुनका अनुसार त्यसयता संरक्षणमा कसैले पहल र चासो नदेखाउँदा इतिहास मेटिन थालेको छ ।
   
बाढीले ठूली बहिनी रेगिश्वरीलाई बगाइ रिडीमा लगेको र कान्छी बहिनी पाण्डवखानीमै रहेकाले माघे सङ्क्रान्तिमा रिडी र पाण्डवखानीमा एकसाथ मेला लाग्ने गरेको स्थानीय चुडाबहादुर रानाको भनाइ छ । पुस मसान्तको रातभरि जाग्राम बस्ने, पूजा गर्ने र सङ्क्रान्तिका दिन बिहान फूलहरु माङ्खोलामा विसर्जन गरेमा आँटेको पुग्ने जनविश्वास छ । पञ्चधारासहित अन्य मन्दिरको संरक्षण गर्ने योजना भए पनि बजेटको अभाव भइरहेको गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताउनुभयो । “परापूर्वकालको एउटा इतिहास हाम्रो गाउँमा छ, यसलाई जोगाउने हाम्रो दायित्व पनि हो”, उहाँले भन्नुभयो, “आगामी वर्ष पञ्चधारा संरक्षणको कार्यक्रम ल्याउने योजना छ ।” घर्तीका अनुसार पाण्डवखानीमा तामाखानीको निकै सम्भावना भए पनि सरकारले खानी उत्खननमा रोक लगाएका कारण समस्या भएको बताउनुभयो । 

बागलुङमा इतिहास बोकेको पाण्डवले नुहाएको पञ्चधारालाई संरक्षण र प्रचारप्रसार गर्न सकेमा ऐतिहासिक र धार्मिक हिसाबले पाण्डवखानीलाई अघि बढाउन सहज हुने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । पाण्डवका विषयमा धेरै इतिहास रहेकाले यसका विषयमा स्थानीय सरकारले थप खोज, अनुसन्धान गरेर संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया