डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा

३ बर्ष अगाडि

प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । 

हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको हो । प्रा डा पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।

जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निवन्धको शैलीमा लेखिएका छन् । पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो । लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन् । अन्य लेखहरु भने समसामयिक स्वास्थ्यसम्बन्धी रहेको उहाँले जानकारी दिए।

अर्थोपेडिक चिकित्सकले नेपाली भाषामा अर्थोपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो पुस्तक भएको बताउँदै उनले भने, “समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत फाइदा होस् भनी लेखिएका छन् । बचपनदेखि बुढ्यौलीसम्म र महिलाका पृथक समस्या यसमा केलाइएका छन् ।” सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसङ्गहरू कुनै किताबको सारांशजस्तो नभई लेखकको २० वर्षको कार्यअनुभवको आधारमा पनि व्याख्या गरिएकाले जो कसैले सजिलै बुझ्न सक्ने उनको भनाइ छ ।

कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफेँ समाधान गर्न सकिने प्रा डा पौडेलको भनाइ छ । लेखनकार्यमा रुचि राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ । 

लेखकको यो पुस्तक खुशीहरुको वनवासपछिको दोस्रो हो । लेखक आफैँमा भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुन । उनी अर्थोपेडिक विषयको प्राध्यापकसमेत रहनुभएको छ । पौडेलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गरेका छन् । उनलाई नेपाल अर्थोपेडिक सङ्घको रजत वर्ष विसं २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेशनल अवार्डसमेत प्रदान गरिएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया