सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

३ बर्ष अगाडि

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन । उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन  । 

उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरेका छन । “आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ” विज्ञप्तिमा भनिएको छ । 

उनले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन  । साथै सक्रिय सङ्क्रमितको शीघ्र स्वास्थलाभको कामनासमेत गरेका छन ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया