कारबाहीको दायरामा नौ उद्योग

३ बर्ष अगाडि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ ।

दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका चार गरी नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । जसमा कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड बेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग टीकापुर रहेको उहाँले बताउनुभयो ।

कञ्चनपुरका प्रशोधित पानी उद्योगहरुमा डेली ड्रिङ्किङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास, कौशल कञ्चन मिनरल्स झलारी, ब्लू बर्ड वाटर ट्रिटमेन्ट एन्ड सप्लायर्स भीमदत्त र शिवशङ्कर वाटर एन्ड मल्टी प्रोडक्सन भासी रहेका छन् ।

कैलालीको कैलाली वाटर इन्डष्ट्रिज धनगढी र  कञ्चनपुरको डेली ड्रिङकिङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास प्रशोधित पानी उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरे सम्मका लागि सिलबन्दीसहित उत्पादन रोक्का राखिएको र अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालको भनाइ छ ।

त्यसैगरी, कैलाली र कञ्चनपुरका अन्य प्रशोधित पानी उद्योग र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा उक्त मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएको  र यदि अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने बताइएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया