सेरावासी टर्कीपालनतर्फ

३ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । 
 
टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी  दिनुभयो । स्थानीय कुखुरा र बट्टाई पाल्दै आउनुभएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गर्नुभएको थियो । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको बताइएको छ । 

टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरालगायतका नौ जातका महङ्गा पक्षीहरु पाल्दै आएपनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उहाँले बताउनुभयो । पाँच वटा खोर खाली छन् । उहाँले भन्नुभयो, “चल्ला ल्याउने स्थानमै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकोले ल्याउन नसकिएको हो ।  सहज परिस्थ्तिि भएपछि पुन ः पाल्ने योजना बनाएको छु ।”

एक दिने चल्लाको रु ३५० देखि ४५० सम्म मूल्य पर्ने र ६ महिनापछि खाना योग्य हुने उहाँले बताउनुभयो । चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी रहेको छ । चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ । 

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले माग अनुरुप पूर्ति गर्न नसकिएको स्थानीय शोभा पौडेलले बताउनुभयो । एक सय टर्की पाल्दा ६ महिनामा झण्डै चार लाखसम्म कमाउन सकिने किसान पौडेल बताउनुहुन्छ । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्रामसम्म तौल हुन्छ । उहाँले भन्नुभयो, “शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।” 

गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केही महिना अघि आफूले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताउनुभयो । तीन महिना अघिदेखि ल्याएर आफूले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । 

उक्त क्षेत्रका चौध घरपरिवारले टर्की पाल्न शुरु गरेका छन् भने अन्य परिवारले टर्की पाल्नको लागि चल्ला माग गरिरहेको किसान पौडेलले जानकारी दिनुभयो ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया