झिलिमिली तिहारमा पनि अन्धकार सिनेमा हल

३ बर्ष अगाडि

कोरोना भाइरसका कारण देशका विभिन्न क्षेत्र प्रभावित भएका छन् । कृषि, पर्यटन, हवाई उडान, होटललगायतका क्षेत्र कोरोनाले थिलथिलो बनेको छ । हजारौंको संख्यामा आश्रित फिल्म क्षेत्र पनि कोरोनाको चपेटामा परेको छ । विगत आठ महिनादेखि फिल्म क्षेत्र ठप्प छ । निषेधाज्ञापछि विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, लकडाउनभन्दा अगावैदेखि बन्द रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन ।
 
भाीडभाड हुने क्षेत्र भएकाले संक्रमण फैलिन सक्ने भयले सरकार फिल्म क्षेत्रका गतिविधि तत्काल सुचारु गर्ने पक्षमा देखिएको छैन । तर, फिल्मकर्मीहरु आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्न माग गरिरहेका छन् । निर्माताहरु स्वास्थ्य सुरक्षा अपनाएर फिल्म बनाउन र हल सञ्चालकहरु आधा दर्शक राखेर सिनेमा हल चलाउन तयार भए पनि सरकार फिल्म क्षेत्रप्रति गम्भीर देखिएको छैन ।
 
नेपालीहरुको महान चाड दशैं र तिहार फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । दशैं र तिहारमा लामो विदा हुने भएकाले हलमा दर्शकको भीड हुने र लगानी उठाउन सजिलो हुने विश्वास निर्मातामा छ । यही कारण दशैं र तिहारमा फिल्म प्रदर्शन गर्न निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । तर, यसपाली दशैंसँगै तिहारमा पनि सिनेमा हलहरु चकमन्न छन् । 

यस वर्षको दशैं र तिहारलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरेका फिल्मको कोरोनाका कारण छायांकन समेत पूरा हुन सकेको छैन । दशैंअघिदेखि केही फिल्मको छायांकन भने भइरहेको छ । केही फिल्म तिहारपछि फ्लोरमा जाने तयारीमा छन् । तर, सिनेमा हल बन्द हुँदा निर्माण भइसकेका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । जसले गर्दा फिल्म क्षेत्रमा अन्योलको स्थिति सिर्जना भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया