रातोढुङ्गा सबस्टेशन अलपत्र

३ बर्ष अगाडि

म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ । 

मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ । एटुजेड इञ्जीनियरिङले करिब रु आठ करोडमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन ।
 
लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुङ्गासम्म २२ किलोमिटर प्रसारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो । सबस्टेशन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो । “पोल गाड्ने र सबस्टेशनका दुईमध्ये एक भवन बनिसकेको छ । उपकरण खरिद भइसकेको छ”, उहाँले भन्नुभयो, “लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेशन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।”

सबस्टेशन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि रातोढुङ्गामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो । सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
      
मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड छ । असी किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताउनुभयो । पूर्वजानकारीबिनै छिनछिनमा विद्युत् आपूर्ति बन्द हँुदा घरायसी कामदेखि सार्वजनिक सेवा प्रवाह र उद्योग व्यवसायमा असर परेको छ । “दैनिक सयौँपटक विद्युत् आपूर्ति बन्द हुन्छ”, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले भन्नुभयो, “विद्युत्को समस्याले उद्योग व्यवसायदेखि घरायसी कामकाज प्रभावित भएको छ ।” 

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरे पनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । “कतिबेला बिजुली आउँछ, कतिबेला जान्छ रु अत्तोपत्तो हुँदैन”, बेनीका फर्निचर व्यवसायी कुवीर श्रेष्ठले भन्नुभयो, “बिजुलीको समस्याले समयमा काम नहुने र लागत बढेको छ ।”

विद्युत्को व्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबी बेकरी उद्योगका सञ्चालक विपिन बानियाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा महिनौँसम्म विद्युत् आपूर्ति नहुने समस्या छ । लामो दूरीको वितरण लाइन, दरबन्दीअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत् आपूर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत पर्वतको मल्लाजसहित १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोकदेखि रत्नेचौर, बेनी र घराप गरी तीनवटा ११ केभीको लाइन छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया