नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस्ः अर्थमन्त्री पौडेल

३ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गोदावरी नगरपालिका–११ चापागाउँमा १५ श्ययाको आधारभूत अस्पतालको शिलान्यास गरेका छन । 

अस्पताल निर्माणका लागि सङ्घीय सरकारले रु १८ करोड बजेट विनियोजन गरेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले भने, “तोकिएको समय अगावै गुणस्तरीय अस्पताल निर्माण गरेर नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गराउनुहोस । यस अस्पताल निर्माणका लागि सङ्घले बजेट अभाव हुन दिने छैन ।” 

सरकारले एकैसाथ मूलुकका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने कुरा अघि बढाउँदा आज लगभग तीन सय पालिकामा सो किसिमको अस्पताल शिलान्यास सम्पन्न भइसकेको बताउँदै उनले यसका लागि सरकारले कूल रु ५७ अर्ब ९५ करोड ११ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । 

मन्त्री पौडेलले मुलुकका सातै प्रदेशमा ५०–५० श्ययाका सरुवा रोग अस्पताल निर्माण गर्न रु आठ–आठ करोड बजेट छुट्टाइसकेको उल्लेख गर्दै कोभिड–१९ महामारीले मुलुक विकासमा पु¥याएको असरलाई मध्यनजर गरेर सरकारले बेरोजगार जनतालाई रोजगारी सिर्जना गर्नुका साथै उत्पादन र आर्थिक उपार्जनमा समेत जोड दिनेछ भने । 
    
ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले जीर्ण अवस्थामा रहेका टिकाभैरव, चापागाउँ र सातदोबाटो गोदावरी सडक निर्माणमा सङ्घीय सरकारको ध्यानाकर्षण गराए । 

प्रदेशसभा सदस्य राजकाजी महर्जन र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी भौगोलिक हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका रहेको हुँदा सरकारले बजेट विनियोजन गर्दा भूगोलको हिसाबमा गर्नुपर्नेमा जोडदिदैं टेण्डर भइसकेका टिकाभैरव चापागाउँ र सातदोवाटो गोदावरी सडकको मुआब्जा जनतालाई दिन नसक्दा मर्मत, निर्माण र विस्तारको काम लथालिङ्ग अवस्थामा छ भने  ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय चेतनाथ सञ्जेल र लालकुमारी पुन, नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, संविधानसभा  सदस्य सशीला नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको सहभागिता थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया