‘परदेशी २’ मा दुलहीको भेषमा सजिएकी केकीका को हुन त जोडी ?

३ बर्ष अगाडि

‘छ माया छपक्कै’ ले बक्सअफिसमा सानदार व्यापार गरेपछि केकीको नेपाली फिल्ममा माग चुलिएको छ । लकडाउनभन्दा अगाडि फिल्म ‘झिँगेदाउ’ को छायांकन पूरा गरेकी उनी गएको बिहीवारदेखि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त छिन् । लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको फिल्मको अहिले पाल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ ।
 
यो फिल्ममा केकीले निर्वाह गरेको भूमिका र उनको जोडीको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, सोमवार केकीले फिल्मको सुटिङ सेटबाट आफू दुलहीको भेषमा सजिएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । फिल्ममा प्रकाश सपुत, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा रहेका कारण उनी कसकी दुलही बनेकी हुन्, यो भने खुलेको छैन ।
 
अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संघर्षको कथा उठान गरेको फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा छिन् । २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’ लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । केकी पनि आफ्नो करिअरमा अर्को सफल फिल्म थपिनेमा विश्वस्त छिन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया