विकासका काममा काङ्ग्रेस सधैँ जनताका साथमा छ : वरिष्ठ नेता पौडेल

३ बर्ष अगाडि

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभागृहको आज शिलान्यास गरेका छन । तनहुँ जलविद्युत् आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभागृहको वरिष्ठ नेता पौडेलले शिलान्यास गरेका हुन ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले विकासका काममा काङ्ग्रेस सँधै जनताको साथमा रहेको विकासनिर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिए । नेता पौडेलले संविधानको मर्मअनुसार चल्न पनि सरकारलाई आग्रह गरे । 

सो अवसरमा पूर्वमन्त्री शिवलाल थापा मगरले विकासनिर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभागृह निर्माण हुनुपर्नेमा जोड दिए। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासनिर्माणको कामले गति लिएको बताए । काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले सभागृह निर्माणपछि ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताए ।

करीब रु दुई करोड लागत अनुमान गरिएको सभागृह निर्माणका लागि तनहुँ जलविद्युत् आयोजनाले रु ६० लाख सहयोग गरेको छ । ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिए । एक हजार पाँच सय क्षमताको सभागृह दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया