रापती खोलामा पुल शिलान्यास

३ बर्ष अगाडि

हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ ।  

दुई सय १५ मिटर लम्बाइ र ११ मिटर  चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६ करोड ४१ लाख ८७ हजार विनियोजन गरेको छ ।   करिब दुई वर्षभित्र  पुल निर्माण  सम्पन्न हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पुलको शिलान्यास गर्दै प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना अगाडि बढाउन, शहरीकरणको विकास गर्न र विकासका पूर्वाधारलाई समानुपातिक रुपमा वितरण गर्न प्राथमिता दिएको जानकारी दिनुभयो  । उहाँले अनियमितता गर्र्नेलाई कारवाहीको दायरामा ल्याइएको पनि बताउनुभयो ।

सो अवसरमा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले  प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा जनताको चाहनानुसार खानेपानी, पक्की पुल, सडक  र विद्युतीकरण विस्तारका लागि विभिन्न योजना कार्यान्वयनको तहमा उतारेकोे जानकारी दिनुभयो । 

उहाँले काठमाडौँ, चितवन, हेटौँडा, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुलीलगायत शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले प्रक्रिया थालनी गरिसकेको र केही महिनाभित्रै सङ्घीय राजधानी काठमाडौँबाट हेटौँडा जोड्ने विद्युतीय सेवा सञ्चालन हुने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात निर्देशनालयका निमित निर्देशक डा सहदेव भण्डारी,  उपमहानगरपालिका–११ र १२ का वडाध्यक्ष क्रमशः गोकर्ण पराजुली र ललित घलान तथा समाजसेवी ललिता गोम्बाले स्थानीय जनसहभागिताका आधारमा विकास निर्माण अगाडि बढाउँदा दीर्घकालीन लाभ प्राप्त हुने बताउनुभयो ।

३ बर्ष अगाडि

प्रतिक्रिया