मध्यपहाडी राजमार्ग स् पोखरा महानगरमा नयाँ ‘एलाइनमेन्ट’ खोजी

३ बर्ष अगाडि

राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्गको पोखरा महानगर खण्डमा नयाँ रेखाङ्कन (एलाइनमेन्ट) को सम्भाव्यता अध्ययन शुरु गरिएको छ । कास्की र लमजुङको सीमा रुदी दोभानबाट कास्कीको पूर्वी क्षेत्र मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी सडकखण्डमा हालै बोलपत्र आह्वान भए पनि त्यसयताको एलाइनमेन्ट टुङ्गो लागेको छैन । पोखरा खण्डमा पहिलाको राजमार्गको एलाइनमेन्ट परिर्वतन गर्न माग भएपछि मध्यपहाडी राजमार्ग आयोजनाले महानगरमा नयाँ रेखाङ्कनको प्राविधिक सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

भैँसेबाट राजमार्ग कुन बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको याम्दी जोड्ने भनेर प्रदेश सरकार, पोखरा महानगर तथा मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले दुईरतीनवटा सम्भावित रेखाङ्कनको अध्ययन गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख एवं डिभिजनल इञ्जिनीयर मेघराज मरासिनीले बताए । पहिलाको डिजाइनअनुसार राजमार्ग विस्तार गर्दा पोखरा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा घर विस्थापित हुने भएपछि महानगरले माथिल्लो भेग हुँदै एलाइनमेन्ट परिर्वतन गर्न माग गरेको हो ।

मादी गाउँपालिकाले आफ्नो धेरै वडाहरु समेट्ने गरी माथिल्लो क्षेत्र हुँदै राजमार्ग लैजानुपर्ने बताएको छ । गाउँपालिकाले मध्यपहाडी राजमार्गलाई गाउँपालिकाको भैँसेबाट विस्तार गरी ज्याउदु, सबी, मेलबोट, पानीघाट हुँदै पोखरा महानगरपालिका–२० को मौजामा जोड्ने गरी राजमार्गको एलाइनमेन्ट थप गर्न कार्यपालिका बैठकबाटै राजमार्ग आयोजना निर्देशनालयलाई सिफारिस गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए ।

आयोजना प्रमुख मरासिनीले केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल तथा प्रधानमन्त्रीका पूर्वाधार विकासविज्ञलगायतले आयोजनाको स्थलगत  अध्ययनका क्रममा पोखरा खण्डमा विकल्प खोज्नुपर्ने बताएपछि आफूहरुले राजमार्गको नयाँ सम्भाव्यता अध्ययन अघि बढाएको जानकारी दिए । उनले भने, “विजयपुरयता सडक अघि बढाउन समस्या रहेकाले हामीले विकल्पको अध्ययन शुरु गरेका छौँ, जनताका लागि बनाउने सडकले जनताको उठीबास हुनुपर्ने अवस्था आउनु हुँदैन भन्नेमा छौँ । आर्थिक, प्राविधक र सामाजिक हिसाबले उपयुक्त विकल्प छनोट गर्छौँ ।” आयोजनाले सम्भव भएको खण्डमा राजमार्गको डिजाइन परिर्वतन गर्न सकिने भए पनि स्थानीयस्तरमा सहमति आवश्यक पर्ने जनाएको छ ।

विगतको डिजाइनअनुसार राजमार्ग भैँसेबाट विजयपुर, पोखराको वडा नं १३ बाँझापाटन, काहुँखोला, काहुँ भञ्ज्याङ, मणिपाल अस्पतालको पछाडि, भलाम, बाटुलेचौर हुँदै याम्दी लैजादा राजमार्गबाट थुप्रै बस्ती र घरहरु विस्थापित हुने र मुआब्जा वितरणमा ठूलो धनराशि खर्च हुने भएकाले राजमार्ग ग्रामीण पहाडी भूगोल हुँदै लैजाने योजनामा पोखरा महानगर छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगर प्रमुख मानबहादुर जिसी, आयोजना प्रमुख मरासिनीलगायतको टोलीले बुधबार महानगरको सम्भावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । मुख्यमन्त्री गुरुङले महानगरबाट राजमार्ग लैजाँदा एक हजार ५०० देखि दुई हजारसम्म घरमा क्षति हुने र हालको बजार मूल्यअनुसार मुआब्जा दिनसक्ने अवस्था सरकारको नभएकाले माथिल्लो भेगबाट राजमार्ग लैजानुपर्ने बताए ।

कास्कीको उत्तरीगाउँलाई राजमार्गले छोएर सो क्षेत्रलाई गुल्जार बनाउने र कृषि, पर्यटन, घरवासको विकास गरी गाउँको संरक्षण गर्ने र शहर झरेकालाई गाउँ फर्काउने अभियान शुरु गरिने मुख्यमन्त्रीले बताए । उनले भने, “हामीले भैँसेबाट याम्दीसम्म रुट हेरेका छौँ । भैँसेबाट याम्वोट, मोहोरिया, आँटीघर, अर्मला, अमलाविसौनी हुँदै याम्दी लैजानु उपयुक्त हुन्छ भन्ने लागेको छ । सबै वैकल्पिक बाटो हरेका छौँ, जुन बाटोबाट सबैभन्दा सजिलो र धेरै गाउँ समेटिने हुुन्छ त्यही अनुसार गर्नका लागि सहजीकरण गर्दछौँ ।”

मध्यपहाडी राजमार्गले गण्डकी प्रदेशका पाँच जिल्लालाई समेट्छ । गोर्खा, लमजुङ, कास्की, पर्वत र बाग्लुङखण्डमा गण्डकीमा पर्छन् । मध्यपहाडीको कास्की खण्डअन्तर्गत साविक पोखरा–बाग्लुङ राजमार्गमा भने तीन वर्षअघिदेखि नै काम भइरहेको छ । पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीबाट माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा हाल कालोपत्रको काम धमाधम भइरहेको हो ।याम्दीबाट घट्टेखोलासम्मको १२ किमी सडकमा अहिले ‘अस्फाल्ट’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्र गर्न शुरु गरिएको आयोजनाका  इञ्जिनीयर अनन्त बरालले बताए । यसै वर्षभित्रमा सो खण्डको काम सम्पन्न गर्ने योजना छ । कास्कीको पश्चिमी खण्डको ३७ किमी ५०० मिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
 
सो खण्डमा याम्दीबाट सुइखेतसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो । यसैगरी घट्टेखोलाबाट कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्शनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ ठेक्का सम्झौता भएकामा यस खण्डको सबै काम सकिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया