बन्दीपुरमा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य पुरा भएन

३ बर्ष अगाडि

सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । 

सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त सङ्ख्यामा पर्यटक भित्र्याउन सम्भव रहेको भन्दै व्यवसायीले तयारी शुरु गरे । 

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि छाडेन । फलस्वरुपः चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी शुरु भयो । सन् २०२० मा पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी शुरु गरेका यहाँका व्यवसायीको लगानी पनि खेर गयो । “जुन लक्ष्यका साथ लागेका थियौँ, कोरोनाले गर्दा लक्ष्य पूरा हुन सकेन”, बन्दीपुरस्थित होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भने, “सन् २०२० लाई भनेर नयाँ होटल निर्माण भइरहेको थियो, व्यवसायीको सपना चकनाचुर भयो ।”

बन्दीपुर पर्यटन विकास समितिका अनुसार सन् २०२० को अवधिमा १५ हजार पर्यटकले मात्रै बन्दीपुर भ्रमण गरेका छन् । समितिका सचिव वसन्त पौडेलले कोरोनाका कारण सबै तयारी खेर गएको बताए। 

नयाँ वर्षमा छैन कार्यक्रम

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विगत वर्षमा बन्दीपुरमा कार्यक्रम हुने गरे पनि यसपटक भने कार्यक्रम राखिएको छैन । “सबैको सल्लाहबमोजिम विगतका जस्ता स्टेज कार्यक्रम राख्न सकिएन”, होटल व्यवसायी वैश गुरुङले भने।

नयाँ वर्षको अवसरमा बन्दीपुरमा पर्यटकको बाक्लो चहलपहल हुन्थ्यो । बन्दीपुरमा कोठा नपाएर राति नै फर्किनुपर्ने अवस्था सिर्जना हुने बन्दीपुरमा यस पटक भने आन्तरिक पर्यटक फ्याट्टफुट्ट देखिएका छन् । “नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल ठीकै छ, कतिपय होटलका कोठा दुई÷तीन दिन अगाडिदेखि नै बुकिङ छ”, हिमालय एक्सेस होटलका सञ्चालकसमेत रहनुभएका पर्यटन विकास समितिका सचिव पौडेलले भने।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडीखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यावासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । 

म्याग्देको चार ऐन र दश कार्यविधि पारित

म्याग्दे गाउँपालिकाको आठाँै सभाले चार ऐन तथा १० कार्यविधि पारित गरेको छ । आज सम्पन्न सभाले विभिन्न ऐन तथा कार्यविधि छलफलपश्चात् पारित गरेको हो ।

गाउँसभाले स्वास्थ्य तथा सरसफाइ, कर तथा गैरकर राजश्व, जलस्रोत र अनाथ तथा जोखिमयुक्त बालबालिका व्यवस्थापन ऐन पारित गरेको गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। गाउँसभाले विभिन्न २३ वटा निर्णय पारित गरेको छ । गाउँसभाले चालू आर्थिक वर्षको बजेट संशोधन तथा केही शीर्षकमा बजेट कटौती गर्ने निर्णय गरेको छ । 

एक घर एक धारा :  वडाध्यक्षको प्रतिबद्धता पूरा हुँदै

गत स्थानीय तहको निर्वाचन अगाडिसम्म तनहुँको व्यास नगरपालिका–१४ मा १७५ घरधुरीमा मात्रै घरघरमा खानेपानी सुविधा पुगेको थियो । निर्वाचनमा मतदातासँग मत माग्न जाँदा वडाध्यक्षका उम्मेदवार काजीमान श्रेष्ठले भनेका थिए, “हरेक घरमा खानेपानी पु¥याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।”

श्रेष्ठले निर्वाचन जितेसँगै मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयनमा लागे । श्रेष्ठको यस अवधिको कार्यकालमा उक्त वडाका ५४० घरधुरीमा खानेपानी सुविधा पुगेको छ । “निर्वाचनमा जे प्रतिबद्धता गरेको थिएँ, प्रतिबद्धता पूरा गराउनका लागि नियमित खटिए, आज उक्त प्रतिबद्धता पूरा हुने क्रममा छ”, उनले भने, “अब केही दिनभित्रै थप १०५ घरधुरीमा खानेपानी सुविधा पुग्दैछ ।”

नयाँ पानीको स्रोत खोज्नुभन्दा पनि भइरहेको स्रोतको पहिचान गरी प्रत्येक घरमा धारा जडान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए। “वडाभित्र प्रशस्त पानीको स्रोत रहेछन्, त्यसकै पहिचान गरी सदुपयोग गर्नेतर्फ लागे”, उनले भने । यस अवधिमा ‘एक घर ः एक धारा’ अभियानमा करीब रु एक करोड ५० लाख बजेट खर्च भएको छ । 

प्रत्येक गाउँमा खानेपानी सुविधा पुगेसँगै अब स्थानीयवासीलाई कृषि र पशुपालनतर्फ लाग्न प्रोत्साहन गरिने वडाध्यक्ष श्रेष्ठले भने। “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई वडाको तर्फबाट पनि प्रोत्साहन गर्छौं”, उनले भने ।

घरमै पानी आएपछि नाचगान

रासीभञ्ज्याङका २४ घरधुरीमा बुधबार मात्रै खानेपानी सुविधा पुगेको छ । यस अगाडि अस्थायीरुपमा पाइपबाट खानेपानी प्रयोग गर्दै आएका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका छन् । भइरहेको पानीको स्रोत सदुपयोग गर्दै ट्याङ्की निर्माण गरेर घरघरमा पानी पु¥याइएको छ ।

घरमै धारामार्फत पानी आएपछि खुशी लागेको स्थानीयवासी देवीमाया आलेले बताउनुभयो । “घरमै धारा नहुँदा पानीको जोहो गर्न समय लाग्थ्यो, भनेको समयमा काम गर्न पाइँदैनथ्यो, अहिले त घरमै धारा भएपछि आनन्द भयो”, उनले भने।

स्थानीयवासी एवं कार्यपालिका सदस्य नरीमाया आलेले छोराछोरीलाई विद्यालय पठाउनुपर्ने समयमा पानीको जोहो गर्न जानुपर्दा समस्या हुने गरेकामा अब उक्त दुःख हटेको बताए । 
“पानीको निकै दुःख थियो, अब त घरमै पानी आयो”, उनले भने, “करेसाबारीमा तरकारीखेती गर्न पनि सहज हुने भयो ।” वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त ठाउँमा रु पाँच लाखको लागतमा ट्याङ्की निर्माण गरेर घरघरमा धारा जडान गरिएको छ । 

क्यामिन स्टार कपको उपाधि टाइगरल्याण्डलाई

तनहुँको व्यास नगरपालिका–९ स्थित क्यामिन स्टार युवा क्लबले आयोजना गरेको क्यामिन स्टार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि टाइगर ल्याण्ड युवा क्लबले जितेको छ । 

आज भएको फाइनल खेलमा समली युवा क्लवलाई पराजित गर्दै टाइगरल्याण्डले उपाधि जितेको हो । खेलमा टाइगरल्याण्डको तर्फबाट तीन र समालीको तर्फबाट दुई गोल भएको थियो । 

प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार र उपविजेताले रु २५ हजार प्राप्त गरेको छ । विजेतालाई व्यास ९ का वडाध्यक्ष सुरेश थापाले पुरस्कार वितरण गरे। 

प्रतियोगितामा उत्कृष्ट खेलाडी समली युवा क्लबका सुमन श्रेष्ठ, उत्कृष्ट गोलरक्षक टाइगरल्याण्डका अमिन रानाभाट र सर्वाधिक गोलकर्ता कृष्ण थापा घोषित भए । पुस १० गतेदेखि शुरु प्रतियोगितामा २१ टिमको सहभागिता थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया