सुन पसलेले नै किने फलामको गहना: सुनको जलप लगाउँदै बिक्रि गर्दै गर्ने एकजना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं । फलामको गहना बनाएर सुनको जलप लगाउँदै बिक्रि गर्दै गर्ने एकजना ठग पक्राउ परेका छन् । आफूले सुन पसलबाट किनेको गहना आपत परेर बिक्रि गर्न लागेको भन्दै सुन पसलेलाई झुक्याएर ठग्ने धादिङ थाक्रे गाउँपालिका घर भएका राज सापकोटा पक्राउ परेका हुन् । 
कसरी भयो ठगी ? 
थानकोटस्थित रिजन ज्वेलर्समा एकजना पुरुष गहना राखेर पैसा लिन आए । ०७७ असोज ६ मा रिजन ज्वेलर्सका सञ्चालक राजु सदाशंकरले सुन राखे, पैसा दिए । सुन डिपोजिट राखेर पैसा लिन खोज्ने धादिङ थाक्रे गाउँपालिका घर भएका राज सापकोटाले सुनको बिलसमेत देखाए । बिल सहितको सुन राखेर पैसा दिन रिजन ज्वेलर्सलाई समस्या थिएन ।

पुस १७ र २३ मा चन्द्रगिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा पनि सो घटना दोहोरियो । गुर्जुधारा स्थित प्रकाश ज्वेलर्समा बिलसहितको ‘सुन’ राखेर राजले पैसा लिए ।

रिजन ज्वेलर्सबाट राजले ३ लाख नगद लिएका थिए । उनले राखेको सुन बैङ्कमा राख्नका लागी रिजन ज्वेलर्सका सञ्चालकले सो सुन पुनः जाँच गर्न खोजे । कोट्याउँदा सुनको जलप भित्र फलाम देखियो १

त्यसपछि, उनले प्रहरीलाई खबर गरेका हुन् । बिल देखाएर सुनको जलप लगाएको फलामका गहना राखेर ठगी गर्ने ३४ वर्षी राज सापकोटालाई महानगरीय अपराध महाशाखा र प्रहरी वृत थानकोटको टोलीले पक्राउ गरेको छ ।

रिजन र प्रकाश ज्वेलर्शबाट राजुले ४ लाख ६० हजार ठगी गरेको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई बताए ।

बुधवार पक्राउ परेका राजको साथबाट प्रहरीले ६ तोला सुनका गहना बरामद गरेको छ । ‘आपत् परेको’ बहाना बनाएर सुन पसलेसँग मिठो गफ गरेर ठग्ने राजलाई प्रहरीले ठगी मद्दा चलाउने तयारी गरेको छ । राजले श्री गणेश ज्वेलर्सको बिल राखेका थिए । सो बिलबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया