विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्न प्रक्रिया सुरु

३ बर्ष अगाडि

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्न प्रक्रिया सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् ।

शुक्रबार विराटनगर पुगेका मन्त्री ढकालले विमानस्थलमा आयोजित कार्यक्रममा निर्धारित मिति सन् २०३० भित्रै विराटनगर शहर अन्तर्राष्ट्रिय विमानस्थल भएको प्रदेश राजधानी भइसक्ने दाबी गरे ।

ढकालका अनुसार सरकारले विराटनगरबाट अन्तर प्रदेश राजधानीमा उडान भर्ने योजना तुरुन्त कार्यान्वयन गर्नेछ ।

‘हामी सङ्घीय संरचनामा गइसकेका छौँ’, उनले भने, ‘तर एक प्रदेशको राजधानीबाट अर्को प्रदेश राजधानीमा जानुपर्यो भने हवाई सुविधा छैन । त्यसैले हवाई मार्गबाट अन्तर प्रदेश राजधानीलाई जोड्न सरकारले गृहकार्य गरिरहेको छ ।’

मन्त्री ढकालले विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको भएपछि कुन–कुन मुलुकमा उडान भर्न सकिन्छ भनेर सरकारले छिटै नै सम्भाव्यता अध्ययन गर्ने जानकारी दिए ।

‘अर्बौं खर्च गरेर विमानस्थलको स्तरोन्नति गरेर मात्र हुँदैन’, उनको भनाइ थियो, ‘स्तरोन्नति गरेपछि त्यसको यथेष्ट उपयोग पनि हुनुपर्छ । उपयोग नै भएन भने खर्च गरेको खेर जान्छ । त्यसैले विराटनगर विमानस्थलबाट कुन–कुन मुलुकका कुन ठाउँमा उडान भर्न सकिन्छ भनेर सरकारले सम्भाव्यताको खोजी गर्नेछ ।’

ढकालले विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक जमिन अधिग्रहण गर्न सङ्घीय सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत खर्च ब्यहोर्ने सम्झौता भएको जानकारी दिए ।

मन्त्रालयअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले विराटनगर विमानस्थलको साबिकको धावन मार्ग १ हजार ५ सय मिटर भएको उल्लेख गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न अरू १ हजार ५ सय मिटर धावनमार्ग थप गर्नुपर्ने स्पष्ट पारे ।

इन्जिनियर थापाका अनुसार यसका लागि १ सय २६ बिघा जमिन अधिग्रहण गर्नुपर्छ । अहिलेको मूल्यमा अधिग्रहण गर्दा ४ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । हाल यस विमानस्थलले १ सय २० बिघा जमिन ओगटेको छ ।

इन्जिनियर थापाले जमिन अधिग्रहणपछि विमानस्थलको स्तरोन्नति गर्न अहिलेको हिसाबमा १३ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।
उनले नयाँ विमानस्थलमा टर्मिनल भवन पनि नयाँ नै हुने जनाए ।

थापाले विमानस्थलको पश्चिमतर्फ बगिरहेको केसलिया नदीलाई अन्तै फर्काउनु पर्ने तथा विमानस्थलमा कार्गो भवन, एप्रोच रोड, एप्रोन र ट्याक्सी स्ट्यान्ड पनि अलग्गै र नयाँ बनाउने गरी गुरुयोजना तयार भएको चर्चा गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया