आन्तरिक पर्यटकको चहलपहल बढ्यो

३ बर्ष अगाडि

काठमाडौं- राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा  विकसित भइरहेको छ ।

विशेष गरी  शनिबार यहाँ  अधिकांश मानिस शनिदेव धार्मिक पर्यटक क्षेत्रमा पूजाआज गर्न र रमाइलो गर्न आउने हुँदा भीडभाड देखिएकाले चहलपहल बढेको छ । रुपनी गाउँपालिका–६ तेरहौतास्थित चुरे पहाडको जङ्गलमा अवस्थित शनिदेव मन्दिर  धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहको छ ।

चुरेभावरको काखमा अवस्थित शनिधाममा आन्तरिक पर्यटकको सङ्ख्यामा निकै वृद्धिसमेत भएको छ । अन्य दिनको तुलनामा प्रत्येक शनिबार धार्मिक पर्यटकको बिहानैदेखि घुइँचो निकै बाक्लो हुनेगरेको छ । मनमोहक दृष्यले भरिपूर्ण पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारदेखि करिब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलमा अवस्थित उक्त शनिदेव धाममा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउने गरेका छन् ।

कोरोना महामारीमा पर्यटकको चहलपहलमा कमी देखिए पनि सन् २०२१ शुरु हुनु अघिदेखि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । शनिबार सरकारी बिदा भएकाले सरकारी कर्मचारी, नेता, व्यापारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सर्वसाधारण शनिधामस्थित शनिदेव मन्दिरमा पूजापाठ गर्न र घुमघामका लागि भीड लाग्ने गरेको राजविराजबाट प्रत्येक शनिबार शनिदेवको पूजा गर्न त्यहाँ जाने जिवछ दासले बताए । 

मर्मतसम्भार र संरक्षणको अभावले मन्दिरको अस्तित्व सङ्कटमा पर्न थालेपछि तीन वर्षअघि नै नेपाली सेनाको सहयोगमा जीर्णोद्वार गरिएकाले पर्यटकको सङ्ख्या बढ्न थालेको हो । शनिधामको नामबाट परिचित यस मन्दिरमा आएर सात शनिबारसम्म पूजापाठ गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वास छ । मन्दिरलाई अझै व्यवस्थित गर्न सकिए थप पर्यटक भित्र्याएर समग्र जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्नसक्ने मन्दिरका पूजारी भुपेन्द्र यादवले बताए ।

दैनिक हजारौँ भक्तजनको आवागमन हुन थाले पनि मन्दिरसम्म पुग्ने बाटोको समस्या रहेको छ । पहाडको टाकुरामा रहेको मन्दिर तथा बाटोमा घेरबार गर्न नसकिए पनि प्रायः यहाँ शनिबारका दिन मात्रै करीब चार-पाँच हजार हराहारीमा पर्यटक पूजा गर्न, घुम्न तथा रामाइलो गर्न आउने गरेका छन् । 

वि.सं २०५६ चैत महिनामा सपनामा शमीको रुख देखेर सो रुख खोजी गर्ने क्रममा मन्दिर फेला परेपछि शनि दशा लगेकालाई ग्रहशान्ति गर्न थालिएको पण्डित सत्यनारायण साहको भनाइ छ । त्यसपछि शमीको रुखको जराले बेल, मिरचाइ, अमरा, फूल धाप, गजहर, साधानका रुखलाई चारैतिरबाट बेरिएकाले सात वृक्षको सङ्गम स्थानमा पूजा गर्नाले शनिदशाबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

उक्त मन्दिरमा श्रीकृष्णा दल गणका नेपाली सेनाको सहयोग तथा जनसहभागितामा १०८ शिवलिङ्ग र कलात्मकमूर्तिले पनि भक्तजनको ध्यान केन्द्रित गर्ने गरेको स्थानीयवासी वृजमान तामाङले जानकारी दिए । कालो पत्थरको शनिदेवको मूलप्रतिमा शमीको रुखमुनी स्थापित छ । 

उक्त मन्दिरको स्तरोन्नतिका लागि प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पक्की पर्खाल बनाउनका लागि रु २५ लाख रकम सहयोग गरेको रुपनी गाउँपालिकाले जनाएको छ । 

सो मन्दिर पुग्न एउटै नदी सात ठाउँमा घुमेर जानुपर्ने भएकाले तत्काल बाटोमा पुल निर्माण भएमा अझै पर्यटक तथा भक्तजन बढ्नसक्ने मन्दिरका पूजारी यादवको भनाइ थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया