ऋण तिर्न नसकेपछि दरबारमार्गको द ल्याण्डमार्क अपार्टमेण्ट र होटल माउण्टेन भवन लिलामीमा, बैंकले एक अर्ब ३५ करोड ३९ लाख उठाउने

३ बर्ष अगाडि

काठमाडौं। काठमाडौंको मुटु दरबारमार्गमा रहेको द ल्याण्डमार्क अपार्टमेन्ट प्रालि र होटल माउण्टेन प्रालि लिलामीमा परेका छन् । सम्पत्तिका मालिक रबिन्द्रमान मल्लले कृषि विकास बैंकबाट लिएको ऋण तिर्न नसकेपछि ति भवनहरु लिलामीमा परेका हुन् ।   

कृषि विकास बैंकबाट मल्लले १६÷१७ बर्ष अघि लिएको ऋणको ब्याजसमेत अहिले एक अर्ब ३५ करोड ३९ लाख रुपैयाँ तिर्न बाँकी छ । ऋण लिएर ब्यवसायिक भवन निर्माण गरेका उनले लामो समयसम्म तिर्न नसकेपछि बैंकले लिलामी प्रकृयामा जानका लागि सूचना निकालेको हो । बैंकका अनुसार फागुन २ गतेसम्म ऋण चुक्ता नगरे फागुन ३ गते सम्पति लिलाम हुने छ । 

बैंकका अनुसार पाँच वटा कित्ताको जग्गामा दुई वटा घर छन्। त्यसमध्ये २ रोपनी १५ आनाको एउटा कित्ता, एक रोपनी ४ आनाको अर्को कित्ता र बाँकी चानचुन चार आना जमिन रहेको उक्त जग्गामा एउटा  ५५ हजार ५३७ वर्ग फिटको घर र १६ हजार ९३७ वर्गफिटको अर्को घर छन् । 

मल्ल निकै राम्रै पृष्ठभूमिको मान्छे भएपनि जग्गाजमिनमा केन्द्रित हुँदा ऋण तिर्न नसकेपछि सात बर्षदेखि बैंकको कालोसूचीमा परेका छन् । 

यसअघि पनि अन्य बैंकले मल्लको अन्य सम्पति लिलाम गरेको थियो। उनको गाडीसमेत लिलामीमा परेको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया